नेपालगन्ज: बाँके कारागारका ९ जना कैदीबन्दीलाई छोड्न उच्च अदालत तुलसीपुर, नेपलागन्ज ईजलासले आदेश दिएकोछ । उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले सर्वोच्च अदालतको फूलकोर्टको निर्णय अनुसार बाँके कारागारका ९ जनालाई बाँकी कैदवापतको रकम लिएर छोड्न आदेश दिएको हो ।
यसअघि गत चैत्र ७ गते सर्वोच्चको निर्णय विपरित बाँके जिल्ला अदालतले चैत्र २६ गते १० जना बन्दीलाई छोड्न नमिल्ने आदेश गरेको थियो ।
बाँके जिल्ला अदालतले यस्तो आदेश गरेपछि एक दर्जन कानून व्यवसायीले ९ जनाको तर्फबाट (एकजना पटकेलाई छाडेर) उच्च अदालत तुलसीपुर नेपलागन्ज इजलासमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।
सोही निवेदन उपर आज उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले बन्दी प्रत्येक्षीकरणको आदेश गरेको अधिवक्ता ईश्वरीप्रसाद ज्ञवालीले बताए ।
सर्वोच्चले एक वर्षसम्म कैद तोकिएका यस्ता कैदीले कैद वापतको रकम दिइ कैद मुक्तका लागि निवेदन परेमा कैदीबाट दिनको तीन सयका दरले रकम असुल्नेगरि छाडिदिने निर्णय गरेको थियो ।