नेपालमा कोरोना संक्रमित संख्या ४७ पुग्यो, ९ जना घर फिर्ता


नेपालमा कोरोना संक्रमित संख्या ४७ पुग्यो, ९ जना घर फिर्ता

नेपालगन्ज:नेपालमा थप दुईजनामा कोरोना भाइरस रहेको पुष्टि भएकोछ । बिहीबार फेरि कोरोना भाइरसको थप दुई जना संक्रमित थपिएका हुन् । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उदयपुरबाट संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा वर्ष ५५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उदयपुरकी संक्रमित ती महिला त्रियुगा नगरपालिका–३ भुल्केकी हुन् । जमातीका कारण उदयपुरमा करोना संक्रमित हुनेको संख्या अहिलेसम्म २५ पुगेकोछ । कोरोना संक्रमित उनीहरु सबैको विराटनगरस्थित कोरोना कोराना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै जनकपुरका १४ वर्षीया बालकमा पनि संक्रमण पुष्टि भएको उनले बताए । उनले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिए ।

कोरोनालाई जितेर घर फर्किए दुई जना

यसैगरी आजै पाटन अस्पतालको आइसोलेनमा उपचार गराइरहेका दुई जना निको भएर घर फर्किएका छन् । उनीहरु पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका हुन् । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ९ जना पुगेको छ ।

त्यस्तै मन्त्रालयले पीसीआर र आरडीटी विधिबाट हालसमम ४३ हजार ७ सय २२ जनाको परीक्षण गरीएको जनाएको छ । हालसम्म कोरोना भाइरसका कारण नेपालमा कसैको पनि मृत्यु भएको छैन ।