File Photo
नेपालगन्जः बाँकेको जमुनाह स्थित दशगजा नजिक अस्थायी क्वारिन्टिनमा रहेका एक ८१ जनालाई घर पठाइएकोछ । बाँके प्रशासनले केन्द्र सरकारसंगको समन्वयमा उनीहरुलाई आज घर पठाएको हो ।
नेपाल–भारत नाका बन्द भएको बेला भारतका विभिन्न ठाँउबाट घर आएका उनीहरु कोरोनाको जोखिमले गर्दा नाकामा रोकिएका थिए । बाँके प्रशासनले उनीहरुलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ पिप्रहवाको जमुनाह स्थित दशगजा नजिक अस्थायी क्वारेन्टिन निर्माणगरि राखेको थियो ।
गत चैत्र १८ गते नेपालगन्ज नाका आइपुगेका उनीहरुलाई बाँके प्रशासन र नेपालगन्ज उपमहानगरपालिकाको पहलमा १९ गते उक्त दशगजा नजिक टेन्ट लगाएर बनाइएको क्वारेन्टिनमा राखिएको थियो । नेपाली भूमिमा बस्नका लागि उनीहरुले आन्दोलन समेत गरेका थिए । २३ दिनसम्म उक्त क्वारेन्टिनमा बसेका उनीहरुलाई बाँके प्रशासनले ७ वटा गाडीमा आफ्नो गन्तब्यमा पु¥याएकोछ ।
१५ औं दिनमा उनीहरुको आरडीटि टेष्ट गरिएको थियो । सवैजनाको रिपोर्ट नेगेटिभ आएपछि बाँके प्रशासन र नेपालगन्ज उपमहानगरपालिकाले घर पठाउन तयारी थालेको थियो । तर, केन्द्र सरकारसंगको प्रभावकारी समन्वय बिनै गरिएको प्रयासलाई गृहले रोकेको थियो । सोक्रमाम आक्रोसित भएका उनीहरुले आन्दोलन समेत गरेका थिए ।
त्यसपछि क्वारेन्टिनमा बसेका उनीहरुले घर जान नपाएपछि आन्दोलन गर्ने भन्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणा मार्फत प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कालाई ज्ञापन पत्र बुझाएका थिए ।
देशका विभिन्न जिल्लाका एक सय ८१ जनालाई जिल्लागत रुपमा पायक पर्नेगरि सोही अनुसार गाडी व्यवस्था गरेर पठाइएको छ ।
जसमा,
१) बाँकेका २५ जना र बर्दियाका दुईजनालाई एउटा गाडीमा
२) दाङदेखि पूर्व झापासम्मका ५७ जनालाई एउटा गाडीमा
३) बर्दियाका थप १२ जनालाई छुट्टै एउटा गाडी
४) जुम्ला, मुगु र अछामका २३ जनालाई एउटा गाडीमा
५) सल्यान, रुकुम र जाजरकोटका १४ जनालाई एउटा गाडीमा
६) रोल्पा र प्यूठानका १९ जनालाई एउटा गाडीमा
७) दैलेख र सुर्खेतका २८ जनालाई एउटा गाडीमा राखेर पठाइएको छ ।