नेपालगन्ज : बर्दिया जिल्लाको कोठियाघाटस्थित क्रसर उद्योगमा काम गर्ने दुई भारतीय मजदूरमा कोरोना संक्रमण देखिएको छ । भारतको बहराईच जिल्ला नानपारा जनपद निवासी २ मजदूरमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोठियाघाट क्रसरमा काम गरिरहेका उनीहरू गत बैशाख ५ गते बर्दियाबाट भारतको बहराईच गएका थिए । त्यहाँस्थित अस्पतालमा उनीहरूको परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । नेपालमा कार्यरत उनीहरू घर फर्किएपछि कोरोना पुष्टि भएको त्यहाँको प्रहरीले जनाएको छ । भारतीय प्रहरी कार्यालयले बर्दिया जिल्ला प्रहरीलाई पत्र लेख्दै नेपालबाट भारत गएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको हो ।
बैशाख ५ गतेसम्म बर्दियामै रहेका ब्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएपछि संक्रमणको जोखिम बढेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । गिरीले भारतीय नागरीकसँगै काम गर्दै आएका क्रेसर उद्योगका सबै मजदूरको स्वाव संकलन गरी परीक्षण गर्ने तयारी भईरहेको बताए ।
ती व्यक्तीमा कोरोना भएपछि उक्त क्रसरमा सधैं आवतजावत गर्ने एउटै गाडीमा हिड्ने बर्दियाका प्रहरी प्रमुखदेखि केही व्यवसायीमा पनि कोरोनाको संक्रमण हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।
यसैबिच कोरोना संक्रमित व्यक्ति रहेको आशंकामा बर्दियाको ठाकुरबाबा नगरपालिका–२ को सुजनपुर र खुलपुर गाउँलाई पूर्णरुपले शिल गरिएको छ ।
नेपाल भारतको सीमामा पर्ने बर्दिया जिल्लासँग जोडिएको भारतको बहराइचमा बिहिबार कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबारदेखि उक्त दुई गाउँ शिल गरिएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ ।