बाँके कोरोनाको उच्च जोखिममा: के गर्दैछन् बाँकेका सांसद ?


बाँके कोरोनाको उच्च जोखिममा: के गर्दैछन् बाँकेका सांसद ?

बाँकेमा कोरोना संक्रमण रोकथामका लागि अझै सक्रिय बन्न सुझाव दिदैं प्रदेश सांसद आइपी खरेल । फाईल तस्विर: सेतोखरी

नेपालगन्ज: प्रशासनको चरम लापरबाहीले पछिल्लो समय बाँके कोरोना संक्रमणको उच्च जोखिममा देखिएको छ । बाँके प्रशासनले नेपालगन्ज र आसपासमा जनता कफ्र्यू लगाएपनि यसको पूर्ण कार्यान्वयनमा ध्यान दिएन् । यसले केही दिन यता बाँकेको नेपालगन्ज, कोहलपुर, खजुरा लगायतका क्षेत्रमा विहानदेखि चार बजेसम्म घर, टोल तथा गली एवम चोक–चोकमा आमनागरिकको भीड लाग्ने गरेको छ ।

बाँके प्रशासनले केही दिनअघि एक सूचना निकाली दिउँसो ४ बजेसम्मका लागि बाँके खुल्ला रहेको संकेत गरेपछि नेपालगन्ज लगायत समग्र जिल्ला नै कोरोनाको उच्च जोखिममा देखिएको हो ।

आजभोली नेपालगन्ज लगायतका बजारमा विहानदेखि चार बजेसम्म पसल खुल्ला हुन्छन् । मानिसहरू निर्धक्क आवतजावत गरिरहेका छन् । नगरका विभिन्न चोक–चोक, गली र टोल तथा चिया पसल, पान पसल जताततै भीडभाड नै छ । प्रहरी तैचुप मैचुपको अवस्थामा देखिएको छ । सिडिओ कुमारबहादुर खड्का मौन छन् । सुरक्षा संयन्त्र उदासिन छ । स्थानीय तह गुपचुप छ । संघीय, प्रतिनिधी तथा प्रदेश सांसदको अत्तोपत्तो छैन् । बाँके कोरोनाको सतप्रतिशत उच्च जोखिममा छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि नेपालमा पनि लकडाउन गरेको करिब डेढ महिना हुनै लागेको छ । सडक चकमन्न छ । होटलदेखि पसल हुँदै आम व्यवसायमा ताला लगाइएको छ ।

बाँकेबासी आम नेपाली आतंकित र आजित छन् । संघीय सरकारले मुलुकलाई नै लकडाउन गरेको छ । बाँके प्रशासनले नेपालगन्जमा जनता ‘कफ्र्यु’ जारी गरिरहेको छ । (कोबिड–१९) नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि यो वा त्यो ढंगबाट काम भइरहेको छ ।

नेपाल–भारत मुख्य जमुनाह लगायतका सहायक नाका बन्द गरिएको छ । यतिबेला बाँकेका आमनागरिक सुरक्षाको खोजीमा छन् । तर, यहाँका जनताको सुख, दुःखमा साथ दिने कसम खाएका दर्जनबढी सांसदहरू को, कहाँ, के गर्दैछन् ? यस बिषयमा जनता नै अनभिज्ञ छन् ।

बाँकेबाट यसअघिको संविधान सभा निर्वाचनमा संघीय, प्रदेश र प्रतिनिधी सभामा गरी १३ जना व्यक्तिहरू सांसदका रूपमा निर्वाचित भएका थिए । अहिले बाँके कोरोनाको उच्च जोखिममा भई यहाँ जनता यसको संक्रमणको त्रासमा आजित भइरहेको बेला यी सांसदको मुहार समेत नेपालगन्ज र आसपासमा देख्न सकिदैन् । चुनावताका जनताकै साथ सहयोग र अधिकार तथा सुख, दुःखमा सँगै हुने वाचा गरेका यी सांसदहरूले अहिले वास्तवमै आफ्नो असुली रूप प्रदर्शन गरिरहेका छन् ।

यसअघिको निर्वाचनको मतपरिणाम अनुसार बाँके क्षेत्र नम्बर एक बाट संघीय सांसदमा महेश्वर गहतराज ‘अथक’, क्षेत्र नम्बर दुईबाट मोहम्मद इस्तियाक राई, तीनबाट नन्दलाल रोकाय निर्वाचित भएका थिए । चुनावताका यी तीनै जनाको एउटै आवाज थियो कि ‘जनताको सेवाका लागि हामीलाई मत दिनुहोस् ।’ तर, अहिले यीनीहरूले पनि आफनो असली रूप देखाइरहेका छन् ।

संघीय सांसद अथक जिल्लाका जनता समस्यामा परिरहेको बेला राजधानी काठमाडौं बसेर आदर्शवान व्यक्तिका रूपमा आफ्नो पहिचान बनाउँदैछन् । उनी आफनो क्षेत्रमा कार्यथलो भएका पत्रकारलाई गुणस्तरहीन सेनिटाइजर बाँड्ेर सस्तो लाकप्रियता कमाउँदैछन् ।

उनलाई आफ्नै क्षेत्रका जनता जसले मतदान गरेर त्यहाँसम्म पु¥याए उनका बारेमा कुनै चासो छैन् । उनी राजधानीबाटै ज्वरो नाप्ने ‘गुना गन’लगायतका स्वास्थ्य औजार खरिद गरि सप्लायर्सलाई बिक्रिवितरणको जिम्मा लगाउनमै व्यस्त देखिन्छन् ।

क्षेत्र नम्बर दुईका संघीय सांसद राईले मन्त्री पद फुत्किएपछि नेपालगन्जमा आएर यो समयमा आफ्ना क्षेत्रका केही जनतालाई राहत वितरण गरेको नाटक गरेकाछन् । उनी जिल्लामै बसेर जनसेवामा लागिरहेको उनको सचिवालयले बताएको भएपनि यतिबेला उनी पनि गुमनाम छन् ।
क्षेत्र नम्बर तीनका संघीय सांसद नन्दलाल रोकाय कहाँ के गर्दै छन् ? यस बारे उनकै पार्टी नेकपाका बाँकेका नेता र कार्यकतालार्ई समेत थाहा छैन् । बाँके कोरोनाको उच्च जोखिममा रहेको बेला जिल्लामा बसेर जनताको सेवा गर्नुपर्ने उनी तै चुप मै चुपको अवस्थामा छन् ।

प्रतिनिधी सभा सदस्य पूर्णकुमारी सुवेदी र सरवतारा खानम हलुवाइको पनि कुनै अत्तोपत्तो छैन् । उनीहरू निकट केही कार्यकर्ताका अनुसार प्रतिनिधी सभाका सदस्यद्वय राजधानीमै होम क्वारेन्टिनमा छन् ।

यी बाहेक बाँकेका प्रदेशमा कृष्ण केसी ‘नमूना’, विजयबहादुर यादव, सुरेन्द्रबहादुर हमाल, आईपी खरेल, मोहम्द आकुव अन्सारी, बाबुराम गौतम, चिन्तावती कुर्मी र पार्वती पुन सांसद भएका छन् ।

नागरिकहरू घरभित्रै बसेर कोरोना रोकथामका लागि सरकारी प्रयासलाई सघाइरहेका छन् । तर, निवास होस् वा कार्यालय, सधैं भेटघाट, कार्यक्रम र बैठकमा व्यस्त रहने बाँकेका अधिकाशं सांसदहरूको यतिबेला अत्तोपत्तो छैन् । गुमनाम छन् । अझ जोखिमका यो परिस्थितीमा जनताको सारथी बन्नुपर्नेमा जनतादेखि टाढिएका यी सांसदहरुलाई आम नागरिकले राम्रोसंग मुल्यांकन गरिरहेकाछन् ।

कोभिड–१९ को सम्भावित संक्रमणबाट बच्न सरकारले लकडाउन घोषणा गरेपछि बाँकेको प्रदेश एकका प्रदेश सांसद कृष्ण केसी ‘नमुना’, प्रदेश तीनका प्रदेश सांसद आईपी खरेल बाहेकका कुनैपनि सांसदहरू जिल्लामा देखिएका छैनन् । घरबारीटोलमै घर भएका प्रदेश सांसद सुरेन्द्र हमाल समेत यतिको दिनसम्म जनतासामु देखिएका छैनन् । उनी पनि घरमै होम क्वारेन्टिन बसिरहेको उनी निकट नेता कार्यकर्ता बताउँछन् । सांसद बिजय बहादुर यादव, मोहम्मद याकुब अन्सारी नेपालगन्जमै भएर पनि कोरोना संक्रमणको त्रासबाट आजित भएका बाँकेबासी सामु पुग्न नसकेको गुनासो आइरहेको छ । यसरी आफू अनुकुलतामा के के नै गरेको डम्फू पिट्ने सांसदका रवैयाका कारण आम नागरिक आजित भएको प्रष्ट छ ।

उहिल्यैदेखि प्रकृति र मानवबीचको लडाइँ चलिरहेको छ । यो संकटको घडीमा आमनागरिकका समस्याका साथै अरू विषयमा अझै यो–यो काम गर्न आवश्यक छ । तर, बाँकेका संघीय तथा प्रतिनिधी र प्रदेश सांसदले आफ्नो निर्वाचन क्षेत्रको अवस्था समेत बुझन चासो नदेखाएको सम्बन्धीत क्षेत्रका नागरिक बताउँछन् ।

यतिमात्रै होइन जिल्लामै रहेका जिल्ला तहका राजनीतिक दलका प्रमुख नेताहरूको समेत कोरोना संक्रमण रोकथामको अभियानमा सक्रिय सहभागीता देखिएको छैन् । काँग्रेस बाँके सभापति किरण कोइराला, नेकपा बाँके सचिव अशोक कोइरालालगायतका बाँकेका नेताहरूको समेत शुरूवाती दिनदेखि अहिलेसम्म कोरोना संक्रमण रोकथामको अभियानमा सहभागीता देखिएको छैन् ।

संघीय सरकारले ‘लकडाउन’ र बाँके प्रशासनले जनता ‘कफ्र्यू’ घोषणा गरेपछि यहाँका सञ्चारकर्मी, संयूक्त सुरक्षाकर्मीको पहल र प्रयासमा नेपाल भारत सीमा बन्द गरिएको थियो । त्यस बखत प्रदेश सांसद कृष्णा केसी र नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापाको सक्रियता बढेको थियो । तर, पछिल्लो समय उनीहरू सक्रियतामा पनि कमी देखिएको आमनागरिकहरू बताउँदै आएका छन् ।

संघीय, प्रतिनिधी र प्रदेश साँसदहरूको जनताप्रतिको यस्तो निर्दयी व्यवहारका बाबजुद यहाँका स्थानीय तहहरूले भने सरकारी मापदण्ड र नीति पूर्ण पालना नगरेपनि जनसेवामा सक्रियता देखाउँदै आएका छन् । कोरोना संक्रमण बढेपछि भारतका विभिन्न जिल्लाबाट घर फर्किएका आम नेपालीलाई १४ देखि २१ दिनसम्म क्वारेन्टिनमा राखेर नेपालगन्ज उपमहनागरको पहलमा घर पठाइएको छ ।

यस्तो यहाँका अन्य पालिकाले पनि यसैगरी सम्पर्कमा आएका नेपालीलाई स्थानीय तहमै बनाइएका क्वारेन्टिनमा राखेर घर पठाउन सहयोग गरेका छन् । तर, यो आलेख तयार पार्दा टेलिफोन सम्पर्कमामा आएका केही सांसदहरूले आफूहरू जहाँ जसरी बसेरपनि आफनो क्षेत्रका मात्रै नभई समग्र बाँकेबासीको सुरक्षाका लागि चिन्तित भएका बताउँदै आएका छन् । यद्दपी यहाँका १४ जना सांसदमध्ये को, कहाँ, के गर्दैछन् ? बाँकेमा अधिकाशंको अहिले पनि अत्तोपत्तो छैन् ।