विहान दशबजेपछि बाहिर निस्कन बन्देज
नेपालगन्ज: संघीय सरकारको लकडाउन र बाँके प्रशासनको बाँकेमा जनता कफ्र्यु चलिरहेकै बेला बाँके प्रशासनले बिहीबारदेखि यहाँको लकडाउनमा कडाई गरेकोछ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायद्वारा बिहीबार जारी सार्वजनिक सूचना अनुसार केही दिन अघि फितलो बनाइएको लकडाउन बिहीबारदेखि पूर्णरुपमा कडाईका साथ लागु गरिएको उल्लेखछ ।
उक्त सूचनामा विहान १० बजेदेखि साँझैसम्म बाँकेका सवैक्षेत्र पूर्णरुपमा बन्द गरिनुका साथै अत्यावश्यक बाहेकका सवारीसाधनमा पूर्ण रोक लगाईने पनि उल्लेख गरिएकोछ ।
सूचना अनुसार मेडिकल बाहेकका अन्य ब्यवसायीक निकायहरु पनि अब विहान १० बजेपछि पूर्णरुपमा बन्द हुनेछन् । यसअघि बाँके प्रशासनले नै एक सूचना जारी गरि दिउसो ४ बजेसम्मका लागि अत्यावश्यकका रुपमा रहेका मेडिकलदेखि खाद्यान्न लगायतका पसलहरु खुल्ला गरेको थियो भने शहरमा मानिसहरुको पनि निकै भीडभाड बढेको थियो ।
बाँकेमा लकडाउन खुकुलो हुदैंगएपछि आम नागरिकको गुनासोलाई मध्यनजर गर्दै सेतोखरीले ‘बाँके कोरोनाको उच्च जोखिममाः के गर्दैछन् सांसद ?’ शीर्षकमा बुधबार मात्र समाचार प्रकाशन गरेपछि बिहीबार दिँउसो बाँकेका केही सांसद सहित बसेको जिल्ला स्थित सुरक्षा संयन्त्रको बैठकले बाँकेमा लकडाउन थप कडाई गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बाँकेलाई सुरक्षित बनाउनुको साटो बाँके प्रशासनको लापरबाहीका कारण समग्र बाँके असुरक्षित भएको चौतर्फी आलोचना हुन थालेपछि बाँके प्रशासनले बिहीबार पुनः सूचना जारी गरि लकडाउन थप कडा पार्ने बताएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का केही साताभित्र विदामा बस्न सक्ने देखिएपछि उनले यहाँको लकडाउन लगायत शान्ति सुरक्षाका विषयमा खासै चासो नदिएको जिल्ला स्थित उच्च सुरक्षा संयन्त्र निकट एक उच्च सुरक्षा अधिकारी बताउँछन् ।

उनका अनुसार उमेर हदसगैं यहाँका प्रजिअ खड्का वैशाख २७ गतेदेखि स्वतः अवकास पाउँदैछन् । तर, यस विषयमा प्रजिअ खड्काले कुनै प्रतिक्रिया दिएका छैनन् । कोभिड–१९ को संक्रमणबाट बाँकेमा अहिले सम्म एकजनामा पनि कोरोना भाइरस संक्रमण देखिएको छैन । यद्यपी बाँके जिल्ला नेपाल–भारत सीमासंग जोडिएको कारण यहाँ कुनै पनि बेला कोरोना भाइरसको संक्रमण बढ्न सक्ने देखिएकोछ ।
नेपाल–भारत सीमा पूर्णरुपमा बन्द गरिएपनि पछिल्लो समय यहाँका छोटी तथा चोरनाका र मुख्य भन्सारबाटै तरकारी तथा खाद्यान्न ढुवानीकर्ता भन्दै थुप्रै मानिसहरु नेपालगन्जमा प्रवेश गरिरहेकाछन् ।
बाँके प्रशासन र प्रहरीले यसको रोकथाम गर्न सकेको देखिदैन । देशमा कोरोनाका संक्रमितहरु बढिरहेको अवस्थामा यहाँ आमनागरिकहरु पनि कोरोनाको संक्रमणमा हुनसक्ने सम्भावनालाई मध्यनजर गर्र्दै त्रसित बनिरहेकाछन् ।
अचम्मको कुरा आम नागरिक कोरोनाको डरले आजित भइरहेका बेला बाँकेका राजनीतिक दल र यी दलसंग निकट रहेका करिब एक दर्जनबढि सांसदहरु कहाँ के गरिरहेका छन् अहिले पनि कुनै अत्तोपत्तो छैन ।
निर्वाचनताका जनताको सुख, दुःखमा जनताकै घरदैलोमा जनतासगैं बसेर सुखमा रमाइरहेका र दुःखमा कष्ट सहने बाचा गरेका बाँकेका संघीय तथा प्रदेश र प्रतिनिधी सभा सांसदहरु कोरोना संक्रमणले नागरिक आजित भइरहेका बेला वाचा अनुसार जिल्लामै रहेर जनसेवामा समर्पीत हुनुपर्ने हो तर, उनीहरुले उक्त वाचालाई सार्थकतामा पु¥याउन सकेनन् भने बाँकेबासीलाई भोट बैंकका रुपमा प्रयोग गरेको पुष्टि हुन्छ ।