सुरक्षा संयन्त्रको आपतकालिन बैठक, मस्जिदमा सुरक्षा निगरानी कडा
File Photo
नेपालगन्ज: बाँकेको नेपालगन्जमा कोरोना पोजेटिभ भेटिएको छ । पछिल्लो समय स्वाब परीक्षणलाई तीब्रता दिएसँगै नेपालगन्जमा शुक्रबार कोरोना पोजेटिभका विरामी भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डाक्टर समीरकुमार अधिकारीद्वारा जारी सूचनामा नेपालगन्जका एकजनामा कोरोना भाइरस संक्रमण देखिएको हो । योसगैं बाँकेको नेपालगन्जमा रहेका एक ६० वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ । यस्तै रुपन्देही निवासी एक २५ वर्षीय पुरुषमा समेत कोरोना भाइरस रहेको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डाक्टर अधिकारीद्वारा जारी उक्त सूचनामा उल्लेखछ । योसगैं नेपालमा कोरोना भाइरस संक्रमित संख्या ५९ पुगेकोछ ।
नेपालगन्जमा रहेका मस्जिदहरुमा केही दिन देखि व्यापक रुपमा स्वाब परीक्षण थालिएको छ । भेरी अस्पताल स्रोतका अनुसार, एक जना व्यक्तिमा किटबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि भेरी अस्पतालमा रहेको पिसीआरबाट परीक्षण गर्दा समेत कोरोना पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ ।
उता नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले सामाजिक सञ्जाल मार्फत नेपालगन्जमा कोरोना भाइरस देखिएको सार्वजनिक गरेकीछिन् । उपमेयर मगरले आफ्नो ट्वीटरमा ‘नेपालगन्ज पनि चोखो रहेन कोरोना भाइरस’ भनेर ट्वीट गरेकी छन् ।
भेरी अस्पतालको ल्यावमा ती व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाण्डौंको टेकु स्थित अस्पतालमा पठाएका थियो ।
संक्रमित ब्यक्ति भेटिएको खबर सार्वजनिक भएपछि स्वास्थ्यकर्मी सम्मलित जिल्ला स्थित उच्च सुरक्षा समितिको आपतकालिन बैठक बसेकोछ । जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको नेतृत्वमा उक्त समितिको आपतकालिन बैठक बसेको हो ।
कोरोना भाइरस संक्रमित भेटिएको चर्चापछि बाँके प्रहरीले यहाँका मस्जिदमा निगरानी बढाएकोछ । प्रहरी श्रोतका अनुसार नेपालगन्जमा रहेका मस्जिदमा शुक्रबार बिहानैदेखि उच्च निगरानी बढाइएकोछ । कोरोना भाइरस संक्रमणको आशंकामा यतिबेला नेपालगन्जका मस्जिदमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएकोछ ।
‘नेपालगन्जमा कोरोना भाइरस संक्रमित ब्यक्ति भेटिएको हल्ला छ । त्यसको आधिकारीक धारणा सरकारले गर्छ, तर हामीलाई यो मस्जिदमा निगरानी बढाउन आदेश आएपछि विहानैदेखि हामीले सुरक्षाकर्मी खटाएका छौं’ एक उच्च प्रहरी अधिकृतले सेतोखरीलाई बताए ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको जिल्ला स्थित उच्च स्तरीय सुरक्षा संयन्त्रको बैठकले कोरोना भाइरस संक्रमण भएको आशंकामा रहेका ब्यक्तिलाई आइसोलेशनमा लग्ने तयारी गरिएको बुझिएकोछ ।
स्वास्थ्य सामाग्री सहितको टोली केही बेरमै नेपालगन्जको उक्त मस्जिदमा पठाउने र त्यहाँ रहेका कोरोना भाइरस आशंकित ब्यक्तिलाई आइसोलेसनका लागि लगिने जिल्ला स्थित एक उच्च अधिकारीले जानकारी दिए ।
सुरक्षाकर्मीको घेराबन्दीमा रहेको उक्त मस्जिदमा रहेका ती ब्यक्तिलाई सुरक्षाकर्मीको स्कटिङ्गमा बाँकेको खजुरा स्थित क्यान्सर अस्पतालमा निर्मित आइसोलेशन कक्षमा राखिने बुझिएकोछ ।