File Photo
नेपालगन्जः सरकारले लकडाउन खुकुलो बनाउने तयारी गरेकोछ । दिनानुदिन कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थामा सरकारले यस्तो आत्मघाती कदम चाल्ने सोच बनाएको हो ।
देशमै उच्च जोखिममा रहेको जिल्ला मध्ये एक बाँके जिल्लामा एकजनामा आज शुक्रबार पहिलो पटक कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ । योसगैं देशमा कोरोना भाइरस संक्रमितको संख्या ५९ पुगेकोछ । तर, लामो समयदेखि सरकारले लगाएको बन्दाबन्दीका कारण उत्पन्न असहज परिस्थितीलाई सहज बनाउन भन्दै सरकारले आगामी दिनमा लकडाउनलाई विस्तारै खुकुलो बनाएर लाने तयारी गरिएको बुझिएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वैशाख २५ गतेपछि लकडाउन केही खुकुलो हुने संकेत गरेका छन् । शुक्रबार(आज) राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुनेगरी लकडाउन खुकुलो हुने संकेत गरेका हुन् ।
सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने विषयमा सुझावहरु आइरहेकाले सरकारले पनि यो विषयमा आन्तरिक गृहकार्य गरिरहेको उनले बताए ।
कृषि, उद्योगधन्दा तथा अरु महत्वपूर्ण कुराहरुलाई मध्यनजर गर्दै लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने उनले बताए । कोरोनाका कारण दिर्घरोगी र अन्य बिरामीहरु अस्पतालबाट पाउने सेवाबाट बञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै बिरामीहरुलाई अस्पतालसम्म पु¥याउन पनि लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने उनले बताए ।
यसबीच देशका विभिन्न क्षेत्रबाट गाउँ फर्किएका नागरिकहरुको ¥यापिड डाइग्नोष्टिक परीक्षण जारी रहेको छ । यसअघि सर्वोच्च अदालतले बाटोमा रहेका र सीमा नाकामा रहेका नागरिकहरुलाई उनीहरुको घरसम्म पु¥याउन आदेश जारी गरेपछि सरकारले घर पु¥याउने नीति अवलम्बन गरेको थियो ।
तर, पछिल्लो समय नयाँ जिल्ला तथा नयाँ ठाँउमा कोरोना भाइरस संक्रमित फेला परेपछि सरकारले लकडाउनलाई खुकुलो बनाउने सोँचले भयाबह अवस्था सिर्जना हुने प्रष्ट छ ।