कोरोना संक्रमितलाई आइसोलेसनमा राखियो, नेपालगन्जका ४ स्थान शील


कोरोना संक्रमितलाई आइसोलेसनमा राखियो, नेपालगन्जका ४ स्थान शील

नेपालगन्जः बाँके जिल्ला पहिलो पटक भेटिएको कोरोना भाइरस संक्रमित ब्यक्तिलाई आइसोलेसनमा राखिएकोछ । बाँकेको खजुरा गाँउपालिका स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा राखिएकोछ ।

नेपालगन्ज महेन्द्र पार्क स्थित मस्जिदमा सहायकका रुपमा काम गर्ने ६० वर्षिय ती पुरुषलाई स्वास्थ्य सामाग्री सहितको टोलीले केही बेरअघि लिएर गएको भेरी अस्पताल नेपालगन्जका मेसु प्रकाश थापाले जानकारी दिए ।

प्रहरीको स्कटिङ्गमा एम्बुलेन्समा राखेर उनलाई खजुरास्थित आइसोलेसन कक्षमा लगिएकोछ । संक्रमित ती ६० वर्षिय ब्यक्ति एम्बुलेन्स सम्म सामान्यरुपमा हिडेर आएका थिए । आफै एम्बुलेन्सभित्र बसेका उनलाई पछिबाट प्रहरीले स्कटिङ्ग गरेको थियो ।

सेतोरखीलाई प्राप्त सूचनाका आधारमा नेपालगन्ज ८ स्थित मस्जिदमा सहायकको रुपमा काम गर्ने ती संक्रमित ब्यक्तिको घर वडा प्रहरी कार्यालयको पछाडी पट्टि गगनगन्जमा छ ।

पछिल्लोपटक रमजान सुरुहुनभन्दा केहीदिन अघिमात्र उनी मस्जिदमा गएर बसेको बुझिएकोछ । लकडाउनका अवधिमा मस्जिदमा नमाज तथा अजानका क्रममा नियमित आवतजावत गर्न समस्या पर्ने हुदाँ उनी रमजानको सुरुवातीसगैं उक्त मस्जिदमा बस्ने गरेको बुझिएकोछ । तर, सोही मस्जिदका ईमामको परीक्षण गर्दा उनको रिपोर्ट भने नेगेटिभ आएको छ ।

कोरोना संक्रमित उनी लकडाउन शुरु हुनु अघि भारतको नानपारा लगायतका ठाउँमा गएको भन्ने बुझिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।

बाँकेमा कोरोना भाइरस संक्रमित भेटिएपछि बाँके प्रशासनले उच्च सर्तकता अपनाएकोछ । जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको जिल्ला स्थित उच्च स्तरीय सुरक्षा संयन्त्रको बैठकले कोरोना भाइरस संक्रमणको आशंकामा नेपालगन्जका चार स्थान शील गरेकोछ ।

बाँके प्रशासनले नेपालगन्जको डिएसपी रोड, धम्बोझी, एकलैनी र महेन्द्र पार्क आसपासका क्षेत्र शील गरेकोछ । नेपालगन्जका यी क्षेत्र साँघुरा र घना वस्ती भएको क्षेत्र हुन् । 

मस्जिदमा रहेका ब्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसगैं बाँके प्रशासनले नेपालगन्जका मस्जिदहरुमा सुरक्षा सर्तकता अपनाउदै निगरानी बढाएकोछ ।