लकडाउनको पालना गरि घरमै सुरक्षित बसौं : मेयर डाक्टर राणा

संक्रमित ब्यक्तिको सम्पर्कमा आएकाहरुको स्वाब संकलन शुरु


लकडाउनको पालना गरि घरमै सुरक्षित बसौं : मेयर डाक्टर राणा

कोरोना पोजेटिभ ब्यक्तिको संम्पर्कमा आएका ब्यक्तिको स्वाब संकलन गरिदै ।

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणाले नेपालगन्जमा पहिलो कोरोना भाइरस संक्रमित भेटिएकोमा आतंकित नहुन भन्दै धैर्य धारण गर्न आग्रह गरेकाछन् ।

नगरप्रमुख डाक्टर राणाले लकडाउनको पूर्ण पालना गर्दै सुरक्षित साथ घरमा बस्न आग्रह गरेकाछन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत स्वास्थ्यकर्मीको टिम, प्रहरी प्रशासन र नगरपालिकाले गर्नुपर्ने काम गरिरहेको जनाउदै सुरक्षितसाथ घरमै बस्न र लकडाउनलाई पूर्ण पालना गर्न आग्रह गरेकाछन् ।

देशमै अन्य जिल्ला र प्रदेशमा कोरोना भाइरस संक्रमित भेटिदाँ बाँकेमा नभेटिएको भन्दै हलुका रुपमा लिएका नेपालगन्जबासीका लागि शुक्रबारको घटनाले त्रास उत्पन्न गरेकोछ ।

बाँके प्रशासनले यसअघि नेपालगन्जमा लकडाउन कडाई गर्दा विभिन्न खाले सामाजिक सञ्जालमा अड्कलबाजी तथा अतिरिञ्ज पार्ने कार्य भएका थिए ।

जब नेपालगन्जकै एक ६० वर्षको पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भयो यो घटनाले नेपालगन्जबासीको होस खुलेको भन्दै यतिखेर विभिन्न ब्यक्तिहरुले सामाजिक सञ्जालमा समेत आफ्ना विचार साझा गरिरहेकाछन् ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन र यसको जोखिमबाट बच्न सवैभन्दा उपयुक्त कदम भनेकै लकडाउनको पूर्ण पालना गर्दै सामाजिक दूरी कायम गर्नु हो ।

यसबीच, बाँके प्रशासनको सक्रियतामा कोरोना संक्रमित ब्यक्तिको परिवार र उनको सम्र्पकमा रहेका ब्यक्तिहरुको स्वाब संकलन सुरु गरिएकोछ ।

नेपालमा कोरोना भाइरस देखिएको चार महिना भन्दा बढि समय भइसक्दा पनि योबीच नेपालगन्जमा कोरोना संक्रमित देखिएको थिएन । हिजो शुक्रबार बाँकेको नेपालगन्ज स्थित एक मस्जिदमा रहेका ६० वर्षका पुरुष(ब्यक्ति)लाई कोरोना पोजेटिभ देखिएसगैं बाँके प्रशासनले उच्च सर्तकता अपनाउदै सम्भावित जोखिम नियन्त्रणमा उत्रिएको हो ।

बाँके प्रशासनले स्वास्थ्यकर्मी सहित सुरक्षाकर्मीको उपस्थितीमा संक्रमित ब्यक्ति र उनको सम्पर्कमा आएका ब्यक्तिहरुको परीक्षणका लागि स्वाब संकलन गरिरहेकोछ ।

कोरोना संक्रमित ती ६० वर्षिय पुरुषको घरपरिवारका सदस्य, मस्जिद र उनले पढाउने गरेको मदरसका विद्यार्थीहरुको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिरहेकोछ ।

बाँकेका प्रहरी प्रवक्ता शिवबहादुर सिंहका अनुसार प्रारम्भिक अनुसन्धानमा ट्रेसिङ्ग गर्दा करिब ६५ जनाको पहिचान गरी कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन भइरहेको बताए ।

बाँके प्रशासनले नेपालगन्ज उपमहानगरपालिका गगनगन्ज निवासी उनको घरपरिवार सदस्य, घर वरिपरिका ब्यक्ति, मस्जिद तथा मदरसामा रहेका विद्यार्थीलाई उच्च निगरानीमा समेत राखेको जनाएकोछ ।