मध्यपूर्वका यी देशमा रहेका नेपाली संक्रमित
नेपालगन्ज : कोरोना भाइरसका कारण विश्वभर रहेका ७३ नेपालीको मृत्यु भएको छ । भने ५ हजार बढी संक्रमित भएकाछन् । कोरोना भाइरस संक्रमणका कारण शनिवार (२ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ बेष्टमा ३ गरी ४९ जनाको मृत्यु भएको छ ।
यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । जसमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो । यसैगरी संयुक्त अरब इमिरेट्स् (युएइ) मा ५, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १ जनाको संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डाक्टर संजिव सापकोटाले जानकारी दिए ।
संयोजक डाक्टर सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर ५ हजार २ सय ४७ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १५ सय ७० जना संक्रमण मुक्त भएको अनुमान सो समितिको छ ।
सापकोटाका अनुसार मध्यपूर्वका केही देशहरुमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढिरहेको देखिएको छ । कतारसहित केही मध्यपूर्वका देशले २ हजार ३ सय नेपाली श्रमिकहरुमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेको छन् ।
स्वास्थ्य समितिका अनुसार विभिन्न मध्यपूर्वका देशमा २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, युके १ हजार, बहराइनमा १ सय २६, युएईमा १ सय, कुवेतमा ७८, नेपाल ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टे«लियामा १०, बेल्जियममा ६, जापानमा ६, स्वीडरल्याण्डमा ५, क्यानाडामा ५, जर्मनीमा ४, साईप्रसमा ३, मलेसियामा ३, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङ्गकंङ्गमा २, म्यानमारमा १, फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।
विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार २७ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् । यद्यपी नेपालमा हालसम्म कोरोना भाइरस संक्रमित कसैको पनि मृत्यु भएको छैन ।