प्रधानमन्त्रीको निर्देशन ‘लकडाउन झनै कडा पार्नु’


प्रधानमन्त्रीको निर्देशन ‘लकडाउन झनै कडा पार्नु’

File Photo

नेपालगन्जः नेपालगन्जमा एकैपटक ९ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि प्रधानमन्त्रीको विशेष ध्यानाकर्षण भएकोछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार बसेको मन्त्रीपरिषद्को बैठकमा बाँके लगायत विशेषगरि तराई जिल्लाहरुमा पछिल्लो पटक कोरोना संक्रमण रोकथामका लागि लकडाउन अझै कडा पार्न निर्देशन दिएका छन् ।

उनले बैठकमा सहभागि गृहमन्त्री रामबहादुर थापालाई विशेष निर्देशन दिदै बाँके लगायत, रुपन्देही, विरगन्ज, उदयपुर लगायतका तराईका साथै देशभर नै लकडाउनलाई कडाईका साथ अगाडी बढाउन कुनैपनि कसर बाँकी नराख भनेकाछन् ।

पछिल्ला दिनमा लकडाउन उल्लंघनका घटना बढेसगैं कोरोना संक्रमित थपिदै गएको प्रति चिन्तित हुदैं यसको नियन्त्रणका लागि सरकार हरदम लागि परेको बताएकाछन् ।

‘हामीले गरेको लकडाउनका कारण नै कोरोना नियन्त्रणमा आएको हो,” प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “लकडाउन अझै कडा गरौँ ।” उनले सीमा क्षेत्रमा र बाहिर पनि आवतजावतलाई कडाइ बनाउन गृह मन्त्रीलाई निर्देशन दिएका थिए ।

नेपाल–भारत सीमा जमुनाह लगायतका नाकाहरुबाट आवतजावतमा कडाइ गरेर शून्यमा झार्न भन्दै प्रधानमन्त्री ओलीले गृहमन्त्री थापालाई निर्देशन दिएको श्रोत बताउँछ । सरकारले आह्वान गरेको लकडाउन ४१ दिन पूरा भइसकेको छ । संघीय सरकारको निर्णयलाई प्रस्तावित लुम्बिनी प्रदेश सरकारले पूर्ण कार्यान्वयनमा ल्याएको छ भने बाँके प्रशासनले लकडाउन सगसगै लगाएको जनता कफ्र्यु पनि कायमै राखेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का बताँउछन् ।

उनका अनुसार बाँके विगतदेखि नै कोरोनाको जोखिममा रहेको र अहिले एकै दिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि समग्र जिल्ला अति उच्च जोखिममा देखिएकाले आम नागरिकलाई कोरोनाबाट बच्न र बचाउन लकडाउनलाई कडाई गर्नुका साथै मुख्यदेखि सहायक नाका पूर्ण बन्द गरिने छ ।

उनले भने यसरी जोखिम र संक्रमितको संख्या बढ्दै जाँदा प्रशासनले पालिकाहरुको सहयोगमा एक पालिकादेखि अर्को पालिकामा समेत आवतजावत बन्द गर्ने तयारी समेत गरिरहेको छ ।