भारतबाट आएका २१ जना क्वारेन्टिनमा


भारतबाट आएका २१ जना क्वारेन्टिनमा

File Photo

नेपालगन्ज: भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका २१ जनालाई क्वारेन्टिनमा राखिएकोछ । नेपाल–भारत सीमा क्षेत्र दशगजा नजिक बनाइएको अस्थायी क्वारेन्टिनमा उनीहरुलाई राखिएको हो ।

बाँकेको नरैनापुर गाउँपालिकाको वडा नम्बर १ कट्कुइँयास्थित दशगजामा भारतबाट आएर अलपत्र परेका २१ जनालाई अस्थायी क्वारेन्टिन बनाएर राखिएको नरैनापुर गाँउपालिकाका प्रेस सल्लाहकार नविन गिरीले सेतोखरीलाई जानकारी दिए ।

यतिबेला दशगजामै सशस्त्र प्रहरीले बनाएको टेन्टमा उनीहरुलाई राखिएको छ । उनले भने–‘गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहको नेतृत्वमा क्वारेन्टिनमा उनीहरुको खानपिन र अन्य सबै व्यवस्थापन गरिएकोछ ।’

भारतका बिभिन्न शहरमा मजदूरी गर्न गएका उनीहरु शनिबार लकडाउनकै बीच नेपाल प्रवेश गरेका थिए । उनीहरु सबै नरैनापुर गाउँपालिकाका स्थानीय हुन् ।

नरैनापुर गाउँपालिकाको ३ वटा क्वारेन्टिनमा अहिले ४४ जना रहेको स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्र कुमार साहले बताए । दशगजा नजिक बनाइएको अस्थायी क्वारेन्टिनमा २१ जना, नेरा प्राबि खादवाँमा १४ जना र आदर्श मावि लक्ष्मणपुरमा ९ जना रहेको साहले जानकारी दिए ।

लकडाउनकै बेला नेपाल–भारत सीमा नाकाबाट नेपाल प्रवेश गर्नेको संख्या अझै रोकिएको छैन । सीमानाकाका विभिन्न क्षेत्रबाट लुकीछिपी नेपाल भित्रिनेको संख्या बढ्दै गएपछि थप कोरोनाको जोखिम बढेर आएकोछ ।