तीन दिनका लागि नेपालगन्ज निषेधित क्षेत्र घोषित
नेपालगन्ज: लकडाउन खुकुलो बनाउने तयारीमा रहेको सरकारले कम्तीमा थप एकसाता लकडाउन कायम राख्ने तयारी गरेको छ । देशभर पछिल्लो समय कोरोना भाइरस र आंशकित ब्यक्तिहरुको संख्या बढ्दै गएपछि सरकारले उच्च सर्तकता अपनाउदै यस्तो कदम चाल्न लागेको हो ।
सरकारले यसअघि देशलाई रेड, यल्लो र ग्रिन जोनमा विभाजित गरि सोही अनुरुप लकडाउन खुकुलो र कडाई गर्ने रणनीति अघि सारेको थियो ।
लकडाउन खुकुलो पार्ने वा कडाईका साथ अघि जाने भन्ने विषयमा उच्च स्तरीय समिति बनाई लकडाउनको मोडालिटि तय गरेको थियो । सो मोडालिटिलाई छिटै कार्यान्वयनमा ल्याउनै लाग्दा कोरोना संक्रमितको संख्या बढेपछि सरकारले हाललाई लकडाउन लम्ब्याउनुको विकल्प नरहेको निक्र्यौल गरेकोछ ।
अहिलेसम्म सङ्क्रमित फेला नपरेका (ग्रिन जोन) जिल्लाहरूमा भने अवस्था हेर आवतजावत गर्न दिइने र आर्थिक क्रियाकलाप पनि गर्न दिइने सरकारको तयारी छ । सरकराले देशभर लकडाउन लगाउदै सङ्क्रमित फेला नपरेका र सङ्क्रमण हुन खोजेका जिल्लाहरूमा लकडाउन खुकुलो बनाउने तयारी गरिरहेकोछ । यसबारेमा आज हुने उच्चस्तरीय समन्वयन समितिको बैठकले लकडाउनको मोडालिटि तय गर्नेछ ।
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नेपाल–भारत तथा नेपाल–चीन सीमा अनिश्चितकालसम्म सीलबन्दी नै रहने जनाएकोछ ।
पछिल्लो समय प्रस्तावित लुम्बिनि प्रदेशको बाँके र रुपन्देहीमा देखिएको नयाँ कोरोना संक्रमितको संख्याले पनि सरकार लकडाउन खुकुलो बनाउनेबाट पछि हच्किएको बुझिएकोछ । भारतको सङ्क्रमण र मुलुकमै पनि सङ्क्रमित फेला पर्ने क्रम नरोकिएको तथा भारतबाट लुकीछिपी नेपाल भित्रिने क्रम नरोकिएकाले सीमानामा कडाइ अत्यावश्यक छ ।
यस्तै सरकारले तत्तकाल हवाइ उडान पनि नखोल्ने बुझिएकोछ । सोमबार उच्चस्तरीय समन्वय समितिसहित सीमसीको पनि बैठक बसेको थियो । त्यसमा तीनथरी सुझाव आएका थिए । स्वास्थ्यमन्त्रालयले हरियो, पहेँलो, रातो क्षेत्र छुट्टयाउने र त्यही अनुसार लकडाउनको मोडालिटी बदल्ने सुझाव दिएको थियो ।
रातो रङ लागेका क्षेत्रमा लकडाउन कायम राख्ने, पहेंलो र हरियो देखिएका क्षेत्र खुकुलो राख्ने स्वास्थ्य मन्त्रालयको सुझाव थियो । अर्थ मन्त्रालयले अर्थतन्त्र सङ्कटबाट जोगाउन आर्थिक गतिविधि गर्न दिनेगरी क्रमशः खुकुलो बनाउनुपर्ने सुझाव अघि सारेको थियो । सीएमसीले कतै खोल्ने, कतै कडा गर्ने गर्दा व्यवस्थापन गर्न गाह्रो हुने र सङ्क्रमण फैलने भय भएकाले लम्ब्याउने निष्कर्ष निकालेको थियो ।
कारोना भाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सरकारले लगाएको बन्दाबन्दीका अवधि वैशाख २५ गते बिहीबार सकिदैछ । देशभर लागेको बन्दाबन्दीका बीच नेपालगन्जमै पछिल्लो समय २३ जना नयाँ कोरोना संक्रमित भेटिएपछि सरकारले लकडाउन खुकुलो बनाउने रणनीति स्थगित गरेकोछ । यसका लागि आज बस्ने उच्चस्तरीय समितिले विस्तृतमा खाका तयार पार्ने र बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बुझिएको ।
यता बाँकेको नेपालगन्जमा २३ जनामा कोरोना संक्रमण देखिएसगैं बाँके प्रशासनले आज २३ गते मङ्गलबार बिहान ११ बजेदेखि २५ गते बिहीबार मध्यरातीसम्म नेपालगन्जलाई निषेधित क्षेत्र घोषणा गरेकोछ ।