‘दिल्ली होईन कानपुर’ विवाहमा गएकी हुँ : आयुक्त अन्सारी


‘दिल्ली होईन कानपुर’ विवाहमा गएकी हुँ : आयुक्त अन्सारी

File Photo

नेपालगन्ज : राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त मोहना अन्सारीले आफू भारतको दिल्लीमा नगई उत्तर प्रदेश राज्यको कानपुर शहर गएको बताएकी छन् ।

कानपुरमा आफन्तको विवाह कार्यक्रममा सहभागी भएको बताउँदै आयुक्त अन्सारीले बुधबार विहान सेतोखरीका कार्यकारी सम्पादक कमल न्यौपानेसँगको बिशेष कुराकानीमा भनिन् ‘म नितान्त पारिवारिक कामका लागि कानपुरसम्म गएको हो । दिल्ली गएको र हजको बैठकमा सहभागी भएको भन्ने कुरा सरासर गलत र निराधार हो ।’

उनले भनिन् ‘म कहाँबाट कहाँ हुँदै कहाँसम्म गए यसको सबै रेकर्ड नेपाल प्रहरी र भारतीय एसएसवीसँग सुरक्षित होला, हजुर हेर्न सक्नुहुन्छ’ । उनले थपिन् ‘कोरोना संक्रमणले नेपालगन्ज जोखिममा भएपछि अहिले मेरो बिषयलाई लिएर प्रपोगाण्डा मच्चाईएको मात्र हो ।’

कानपुरको विवाहबाट फर्किएपछि उनी नेपालगन्जमा एक रात मात्र बसेर काठमाडौं फर्किएको दाबी गर्दै आयुक्त अन्सारीले भनिन्–‘आफूले एकरतीपनि झुट नबोलेको र यस्ता लाल्छानाले आफ्नो व्यक्तिगत कुरामा चोट पुगेको छ ।’ 

काठमाडौंबाट व्यक्तिगत सवारी साधनमा नेपालगन्ज हुँदै कानपुर पुगेको र यहाँ पारिवारिक व्यक्तिभन्दा अरू कोहीसँग पनि भेटघाट नगरेको उनको दाबी छ ।

कानपुरबाट नेपालगन्ज र नेपालगन्जबाट काठमाडौं फर्किँदासम्म नेपालमा लकडाउन भइसकेको थिएन । लकडाउनको हल्लासँगै आफू हतार हतारमा काठमाडौ पुगेको बताउँदै उनले भनिन् ‘नेपालगन्ज एक रात बस्दा पनि सुरक्षित भएरै बसेको हुँ । यसैले ममाथि लगाईएको आक्षेप गलत हो ।’

यद्यपी एक अनलाईन न्यूज पोर्टलमा आयोगकी आयुक्त अन्सारीले २०७७ वैशाख १५ गते नेपालगन्जदेखि काठमाडौंसम्मको यात्रा अनुभवसहितको ‘मानअधिकारकर्मीको लकडाउन डायरी’ लेखेकीछन् ।

उक्त लकडाउन डायरीमा उनले भनेकीछन् ‘चैत्र १० गते देशव्यापी लकडाउन घोषणा हुनुभन्दा अगाडि म बाँके–बर्दियामा मानव बेचबिखनसम्बन्धी अनुसन्धानका लागि नेपालगन्ज पुगेकी थिएँ । कोभिड–१९ संकटले स्कुल बिदा भएकाले छोरीहरू मसँगै गएका थिए । हामी नेपालगन्जमै हुँदा कोभिडको त्रास बढ्न लागेको थियो ।’

उनकाअनुसार भारतको दिल्लीमा भएको उक्त हजमा महिलालाई सहभागीता हुन दिइदैन् । धार्मिक गुरूहरू सहभागी हुने हुँदा त्यहाँ महिला जाने त कुरै हुँदैन जान पनि पाईदैन । त म कसरी जान सक्छु उनले भनिन् –‘धर्मका बिषयमा मेरो कुनै क्रिया प्रतिक्रिया हुँदैन । यो हरेक व्यक्तिको नितान्त व्यक्तिगत कुरा हो ।’

यसअघि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आयुक्त अन्सारी भारतको दिल्लीमा भएको हज बैठकमा सहभागी भएर नेपालगन्ज हुँदै काठमाडौं फर्किएको भनि चर्चा चुलिएको थियो ।

यो चर्चासगैं राष्ट्रिय मानवअधिकार आयोगकी आयुक्तलाई पनि कोरोना भाइरस परीक्षण गरि आइसुलेसन तथा क्वारेन्टिनमा राख्नुपर्ने विभिन्न सामाजिक सञ्जालमा बहस र चर्चा चुलिएको थियो ।

यो चर्चा र बहस चलिरहँदा बाँकेको नेपालगन्ज त्यो पनि आयोगकी आयुक्त अन्सारी रहेको क्षेत्रआसपास कोरोना भाइरस संक्रमित भेटिएपछि पछिल्लो समय नेपालगन्जमा पनि उनको यो यात्राका विषयमा चर्चा चुलिएकोछ ।