यही शैक्षिक शत्रदेखि कक्षा १ बाटै संस्कृत पढाई हुने
File Photo
नेपालगन्जः संयोग नै मान्नुपर्छ, माओवादीसमेत मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शिक्षा मन्त्री भएका बेला फेरि संस्कृत पढाइ सुरू हुने भएको छ । यसका लागि पाठ्यक्रम विकास केन्द्रले संस्कृत पठनपाठनका लागि नमूना किताबसमेत तयार पारिसकेको छ ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले थालेको सशस्त्र युद्धका बेला विद्यालयहरूमा संस्कृत विषयको पढाइ बन्द गरिएको थियो । सोबेला कक्षा ६ देखि पढाइ हुने संस्कृत विषयलाई परम्परागतवादी भाषा भएको भन्दै माओवादीहरूले पढाउन रोक लगाएका थिए ।
देशभरिका विभिन्न जिल्लामा माओवादीले विद्यालयमा संस्कृत पढाइ हुन रोकेपछि सरकारले नै उक्त विषय पाठ्यक्रमबाट हटाइदिएको थियो । तर, सरकारले यसै शैक्षिक शत्रदेखि लागुहुने गरि संस्कृत पठनपाठन गर्ने भएकोछ । त्यो पनि कक्षा एकदेखि नै अन्य विषय सरह ।
नेपालमा कक्षा १ मा पाँच विषय पठनपाठन हुन्छ । नेपाली, अंग्रेजी, गणित र मेरो सेरोफेरो केन्द्रबाट तय भएका पाठ्यक्रम अनुसारका पाठ्यपुस्तक हुन् । भने एउटा विषय ऐच्छिक छ ।
संघीयतासँगै स्थानीय तहमा पनि शिक्षाको अधिकार दिइएको छ । सोअनुसार एक विषय मातृभाषा वा स्थानीय शिक्षा विषय पठनपाठन गर्न सकिन्छ । संस्कृत पठनपाठन सामुदायिक वा संस्थागत विद्यालयले गर्न सक्छन् । तर, अनिवार्य भने छैन ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत माघ २ मा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले यो शैक्षिक शत्रदेखि कक्षा १ मा संस्कृत पठनपाठनको बाटो खोलिदिएको हो ।
केन्द्रले २६ मातृ भाषा विद्यालयमा पठनपाठन गर्न सकिने पनि बताएको छ । यतिमात्र होइन, भाषा आयोगले सरकारलाई गरेको सिफारिस अनुसार केन्द्रले शास्त्रीय भाषालाई पनि विद्यालयमा पठनपाठन गर्न आग्रह गरेको छ । कक्षा १ मा सातामा पाँच घण्टा संस्कृत पढाइ गर्नुपर्छ। संस्कृतलाई अनिवार्य विषयमा समेटिएको छैन । यो ऐच्छिक विषयअन्तर्गत समावेश छ ।
कक्षा १ मा पठनपाठन गर्नुपर्ने चार विषयको पुस्तक केन्द्रबाट तयार हुन्छ । स्थानीय तहको खातामा पैसा जान्छ उनीहरूले किताब किनेर विद्यार्थीलाई निःशुल्क वितरण गर्छन् । संस्कृतलगायत शास्त्रीय भाषा वा मातृभाषा वा स्थानीय शिक्षाका किताब स्थानीय तहले बनाउने हो भने उनीहरू आफैंले छपाइको खर्च व्यहोर्नुपर्छ ।
अहिलेसम्म सात सय ५३ स्थानीय तहमध्ये एक सय २५ वटाले मात्रै मातृभाषाका किताब तयार पारेकाछन् । यसअघि विद्यालय तहमा कक्षा ४ देखि माथि केही विद्यालयहरूले संस्कृत विषय पठनपाठन गरिरहेका थिए । अब आवश्यकता हुनेहरूले विद्यालय तहका सबै कक्षामा संस्कृत पठनपाठन गर्न सक्नेछन् ।