नेपालगन्ज: बाँकेको नेपालगन्जमा २३ जना कोरोना संक्रमित भेटिएपछि यसको प्रभाव कर्णाली प्रदेशका विभिन्न जिल्लामा परेको छ । बैदेशिक रोजगारीका लागि भारतका विभिन्न जिल्लामा रहेका आमनेपाली बाँकेको जमुनाह नाका हुँदै कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुगेका छन् । तर, उनीहरूको स्वास्थ्य परिक्षण हुन सकेको छैन् ।
नेपालगन्जमा १४ देखि २१ दिन क्वारेन्टिनमा बसेर कर्णालीका विभिन्न जिल्ला पुगेका नेपालीहरूको समेत त्यहाँ पुगेका अवस्था के कस्तो छ भन्ने बारे त्यहाँका स्वास्थ्य संस्था र स्थानीय तह अनभिज्ञ देखिएका छन् ।
भारतमा कोरोना संक्रमण बढेसँगै भारतीय सरकारले त्यहाँ रहेका नेपालीलाई आ–आफनो घर जान भनेको थियो । सरकारको निर्देशनपछि ज्यान जोगाउन रातारात नेपाल–भारत सीमा भारतीय बजार रूपैडिहा आएका आम नेपालीलाई बाँकेको नेपालगन्जस्थित सरोकारवालाको सहयोगमा २१ दिनसम्म क्वारेन्टिन राखिएको थियो ।
यसरी क्वारेन्टिनमा बसेकाहरुमा कर्णाली प्रदेशका विभिन्न जिल्लाका र सुदूरपश्चिम प्रदेशका अछाम र प्रस्तावित लुम्बिनी प्रदेशकै बाँके, बर्दिया सहितका केही जिल्लाका नागरिक थिए । जसमा सबैभन्दा बढी कर्णाली प्रदेशका थिए । त्यहाँको रेकर्ड अनुसार दैलेखका धेरै नागरिक नेपालगन्ज नाका भएर सुर्खेत हुँदै घर पुगेका छन् । तर, उनीहरूको सुर्खेत र दैलेखमा अहिले पनि स्वास्थ्य जाँच हुन सकेको छैन् ।
दैलेखमा सरकारले एक सय वेडको आइसोलेसन निर्माण गरेको नेपाल पत्रकार महासंघ दैलेखका पुर्वअध्यक्ष पुस्कर थापा बताउँछन् । तर, ती आइसोलेसन अहिलेसम्म खाली नै रहेका छन् । जिल्लामा आएका नेपालीहरूको स्वास्थ्य परीक्षण नहँुदा र उनीहरूलाई क्वारेन्टिनमा राख्न नसक्दा यी आइसोलेसन र क्वारेन्टिन खाली रहेका हुन् ।
हामी कहाँ पर्याप्त परीक्षणका लागि किट पनि उपलब्ध रहेको थापा बताउँछन् । स्रोत साधन पुरै भएर पनि जिल्ला जनस्वास्थ्य र स्थानीय तहले अहिलेसम्म आमनागरिकको स्वास्थ्य परीक्षणामा चासो देखाएको छैन् ।
स्वास्थ्य कार्यालय दैलेखको तथ्याकअनुसार जिल्लामा ४० वटा आइसोलेसन निर्माण गरिएको छ । आठ सय ६१ वटा क्वारेन्टिन बनाइएको छ । अहिलेसम्म क्वारेन्टिनमा ३० जना मात्र नागरिकलाई राख्न सकिएको जनस्वास्थ्य कार्यालय दैलेखका खोप अधिकृत थीरप्रसाद रेग्मी बताउँछन् ।
उनले दिएको रेकर्डअनुसार अझै आइसोलेसन पुरै खाली छ । जम्मा क्वारेन्टिनमध्ये ३० वटामा ३० जना राखिएपनि अरू ८ सय ३० वटा क्वारेन्टिन प्रयोग हुन सकेको देखिदैन् । उनकाअनुसार सरकारी हेल्प डेक्सबाट कोरोनाका बारे गुराँस गाउँपालिकामा ३७ जनाले सेवा लिएका छन् । अन्य पालिकामा भने कतिले हेल्प डेक्सबाट सेवा लिए भन्ने रेकर्ड समेत जनस्वास्थ्यसँग उक्त रिर्पोटमा देखिएन् ।
जनस्वास्थ्यको स्वास्थ्य परीक्षण तथ्याकंलाई निहाल्दा र नेपालगन्ज हुँदै दैलेख पुगेकाको संख्यालाई हेर्दा समेत दैलेख पनि कोरोनाको जोखिममा देखिएको छ । जमुनाह नाका हुँदै दैलेखका दुर्ग गाउँगाउँमा पुगेका आम नेपालीको स्वास्थ्य परीक्षण गर्न जरूरी रहेको दैलेखी समाज कोहलपुरका सदस्य शरद रेग्मी बताउँछन् । उनकाअनुसार समयमै आमनागरिकको स्वास्थ्य परीक्षण गरिएन भने भोली दैलेखमा पनि समस्या आउन सक्छ । त्यसैले अहिले नै सबैको स्वास्थ्य परीक्षण गर्न आवश्यक छ ।
भारतबाट आएका मानिसहरू क्वारेन्टिनमा बस्नुको साटो स्थानीय पसलहरुमा मदिरा सेवन गरेका र तास खेलेका भेटिने गरेको महाबु–१ का शिक्षक जङ्गबहादुर थापा बताउँछन् । सम्झाउँदा उल्टो आफूलाई गाली गर्ने गरेको उनको भनाइ छ ।
‘स्थानीय तहका मुकामबाहेक अन्य गाउँमा सायद यस्तै हालत छ, सरकारका लागि बन्दाबन्दी मान्नु पर्ने जस्तो बुझाइ हरेकमा छ । त्यसैले सुक्ष्म अनुगमन गर्न जरुरी देखिएको छ । तर, यहाँका तहले अनुगमन गर्न समेत चासो देखाएका छैनन् । अधिकांश गाउँका मानिस पसलमा बस्ने, गोप्यरूपमा तास खेल्ने र त्यो पनि नभए हुल बाँधेर खोलामा आउने गरेको भैरवी–१ नेत्रबहादुर थापा बताउँछन् ।
दैलेखको दुल्लु क्षेत्रमा पनि यस्तै अवस्था देखिएपछि यहाँको सुरक्षा व्यवस्था र बन्दाबन्दीलाई कडा पारिएको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारी बताउँछन् ।
यद्यपी सदरमुकाम नारायण नगरपालिकाका गाउँमा भने स्थानीय बजार पसल सहजै खुलिरहँदा यहाँको स्थानीय तह र दैलेख प्रशासन मौन देखिएको खुर्सानीबारीका लक्ष्मी शर्मा बताउँछन् । गाउँका पसलहरु खुला हुँदा बन्द गर्ने अभियान अगाडि बढाउन आबश्यक रहेको उनको भनाई छ ।
दैलेख प्रशासनले दिएको तथ्याकलाई हेर्दा नारायण नगरपालिकामा १ सय ५९, आठबिस नगरपालिकामा ३ सय ४, दुल्लु नगरपालिकामा २ सय २० चामुण्डाविन्द्रासैनी नगरपालिकामा ५५, गुराँस गाउँपालिकामा २७, डुँगेश्वर ४७, भगवतीमाईमा ८४, नौमुलेमा ७० भैरवीमा ६८ महाबुमा २९ र ठाँटीकाधमा १ सय ५७ जना भारतका विभिन्न शहरबाट दैलेखमा पुगेका छन् ।
दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार यसरी बैदेशिक रोजगारीबाट दैलेख फर्केका आम नेपालीको तथ्याकं संकलन भैरहेको छ । सम्बन्धित निकायले पुरा तथ्याक संकलन गरेपछि उनीहरूको स्वास्थ्य परीक्षण लगायतका काम अघि बढाउने योजना रहेको सिडिओ कट्टेल बताउँछन् । तर, यहाँका स्थानीय तह भने अहिले पनि कानमा तेल हालेर बसिरहेको आम जनगुनासो आइरहेको छ ।
देशका सातै प्रदेशमा कर्णाली प्रदेशमा हालसम्म कसैलाई पनि कोरोना भाइरस संक्रमण देखिएकोछैन । देशमै पहिलोपटक गत माघ १० गते एकजनामा कोरोना भाइरस संक्रमण देखिएको थियो । सो अवधिदेखि हालसम्म कर्णाली प्रदेशमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । पछिल्लापटक गत शुक्रबार बाँकेको नेपालगन्ज र रुपन्देहीमा १/१ जनामा कोरोना संक्रमण देखिएपछि कोरोनाबाट बचेको प्रस्तावित लुम्बिनी प्रदेश नेपालगन्जकै कारण उच्च जोखिममा रहेकोछ ।