टालिदैं राँझा–कोहलपुर सडक


टालिदैं राँझा–कोहलपुर सडक

राँझा–कोहलपुर सडकखण्डको हवल्दारपुरमा सडक टालिदैं । तस्विर: विजय मल्ल/ सेतोखरी

कोहलपुर : निर्माण क्षेत्रको अग्रणी कम्पनीका रूपमा रहेको कालिका कन्सट्रक्शनले निर्माण गरेको राँझा–कोहलपुर खण्ड जीर्ण बनेपछि यसलाई टालिदैं छ ।

राँझा–कोहलपुर सडकखण्ड ‘आइसिबी कन्ट्रयाक्ट–२’ अन्तर्गत कालिका कन्सट्रक्शन कम्पनीले निर्माण गरेको थियो । उक्त सडकमा जताततै खाल्डाखुली देखिएपछि लकडाउनको समयमै ती खाल्डा पुर्न (टाल्न) थालिएको छ ।

राँझा–कोहलपुर सडकखण्डका दर्जनौं स्थानमा खाल्डाखुल्डी परेका छन् । अहिले त्यहीँ खाल्डाखुल्ली टाल्ने काममा मजदूरहरू लागि परेको सडक डिभिजन कार्यालय बाँके बताउँछ ।

एसियाली विकास बैंक (एडीबी) को कराडौं ऋण सहयोगमा निर्माण भएको उक्त सडक निर्माणको दशक नपुग्दै जीर्ण भैसकेको छ । उक्त सडक निर्माण भएको करिब ६ वर्ष मात्रै भएको छ ।

कालिकाले निर्माण गरेका सबै सडक गुणस्तरीय हुने र कम्तीमा दशक टिकाउ हुने भनिएपनि उक्त सडक ६ वर्षमै टाल्नुपर्ने अवस्थामा पुगेको कोहलपुरका स्थानीय भूम भण्डारी बताउँछन् ।

कालिका कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको कोहलपुर–राँझा खण्ड तोकिएको म्यादभन्दा आठ महिना पहिले पुरा गरेको थियो । बाँके कोरोनाको उच्च जोखिममा भैरहेको बेला उक्त सडकमा दर्जनबढी कामदारहरू जोखिम मोलेरै काम गरिरहेका छन् । उनीहरूसँग नत मास्क नै छ नत सेनिटाइजर, मजदूरहरू कोरोना संक्रमणको प्रवाह नगरी भगवान भरोसे काममा नियमित लागि परेको हवल्दारपुरकी सीता रेग्मी बताउँछिन् ।

उनकाअनुसार वैशाखको गर्मीमा कालोधुवाँले मजदूरको स्वास्थ्य जोखिम त छदैँछ । यसमा पनि कोरोनाबाट बच्नका लागि उनीहरूसँग कुनै उपाय नहुँदा उनीहरू झनै जोखिममा देखिएका छन् ।

कोहलपुर नगरपालिकाको क्षेत्र भित्र पर्ने उक्त सडक राष्ट्रिय सडक भएको र यो सडक अन्तर्राष्ट्रिय सडक निर्माण मापदण्ड अनुसार निर्माण गरिएकोले यसको टालटुल देखि मर्मतको जिम्मेवारी पनि सडक डिभिजनकै हुने जानकारहरू बताउँछन् ।

अन्तर्राष्ट्रिय मापदण्डमा निर्माण गरिएको भनिएको उक्त सडक ६ वर्षमै जीर्ण हुँदा अहिले आमनागरिकले गुणस्तरीय निर्माणमा आशंका गर्न थालेको कोहलपुरका दीपक राई बताउँछन् ।

सामान्य गाडी, मोटरसाइकल चलाउँदा समेत उक्त सडकमा भल्ड्याङ्गभुल्डुङ्ग हुँदै आएको राई बताउँछन् । ठाउँठाउँमा खाल्डाखुल्डी बनिसकेका छन् । धेरै खाल्डाखुल्डीमा अहिले सडक डिभिजन कार्यालयले रोडा र अलकत्रा हालेर सडक टालटुल गरिरहेको छ । सडक डिभिजन कार्यालयमा यस बारे बुझ्न खोज्दा विहीबार कार्यालयका प्रतिनिधीसँग फोन सम्पर्क हुन सकेन् ।