नेपालगन्ज : बाँकेको भेरी अस्पतालमा मात्रै नभई देशभरमै कोरोना तत्काल रोक्नका लागि अहिलेको स्वास्थ्यकर्मीको दरबन्दी अप्रर्याप्त देखिएको छ । तत्कालै थप दरबन्दीका लागि पहल गर्न सक्ने अवस्था पनि छैन् । यसैले जनशक्ति बढी हुँदा स्वास्थ्य सेवाको प्रभावकारीता र गुणस्तरीयतामा बृद्धि हुने कुरामा सरकारको ध्यान जान जरूरी छ ।
डिसेम्बर २०१९ मा चीनको वुहान पहिलो पटक देखिएको नयाँ कोरोना भाइरस (कोभिड– १९) को संक्रमणको डडेलोले विश्वका प्राय सबै मुलुकलाई छोइसकेको छ । यसको संक्रमणले नेपालमा पनि हलचल मच्चाएको छ ।
नेपालमा शनिबार दिउँसोसम्म एक सय नौ जना संक्रमित भेटिसकेका छन् । प्रस्तावित लुम्बिनी प्रदेशमा संक्रमितको संख्या ३० पुगेको छ । बाँकेको नेपलागन्जमा मात्रै शनिबारसम्म २४ जना संक्रमित खजुराको आइसोलेसनमा उपचारार्थ छन् । सयौं नागरिकको स्वास्थ्य परीक्षण भइरहेको भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाश थापा बताउँछन् ।
उनकाअनुसार खजुरामा रहेका विरामीमध्ये अहिलेसम्म सबैको स्वास्थ्य अवस्था सामान्य छ । भाइरस देखिएको छिमेकी देश चीनमा अहिले संक्रमणको अवस्था नियन्त्रणमा छ । तर, दक्षिणी छिमेकी भारतमा यो बढ्दो क्रममा छ । यसले नेपालमा खतरा देखिएको छ ।
नेपालगन्जमा कोरोना संक्रमणको चर्चा चलेदेखि भेरी अस्पतालका फिजिसियन डाक्टर राजन पाण्डेले भेरीमा आउने आमनागरिकको स्वास्थ्य परीक्षणमा महत्वपूर्ण भूमिका खेलका छन् ।
जब नेपालगन्जमा सक्रमित भेटिए तबदेखि उनी कोरोना अस्पताल खजुरामा नियमित संक्रमितको रेखदेख र सेवा प्रवाहमा खटिएका छन् । उनले आमविरामी र सर्वसाधारणको सहजताका लागि भेरी अस्पताल ज्वरो क्लिनीकमा समेत सेवा प्रदान गर्दै आएका थिए ।
संक्रमित भेटिएको पहिलो चरणमै कोरोना अस्पतालमा खटिएका पाण्डेले अस्पतालमै संक्रमित र अन्यका लागि पनि स्वास्थ्य परिक्षण गर्न हेल्प डेक्स नै खडा गरेका थिए । उनको यो डेक्सबाट साता दिनमा थुप्रै विरामी र आमनागरिकले स्वास्थ्य परिक्षण गराएको कोरोना अस्पताल स्रोत बताउँछ । उनी अहिले पनि आम नागरिक र विरामीको स्वास्थ्य परीक्षणमा सक्रिय भूमिका खेल्दै आएका छन् ।
कोरोनाको संक्रमणबाट जोगिन सरकारले थप नयाँ रणनीति बनाउनुपर्ने देखिएको छ । भारतको उत्तरप्रदेश क्षेत्रमा कोरोना संक्रमण देखिपछि बाँकेमा उच्च सर्तकता अपनाइएको थियो । कोरोनाको कहर बढेसँगै सरकारले गरेको लकडाउन घोषणा लगत्तै यसको रोकथाम तथा नियन्त्रणमा भेरी अस्पतालका डाक्टर पारस पाण्डेले स्थानीय स्तरमै पीपिई बनाउँनेदेखि यसबाट बच्नका लागि सचेतनाबृद्धि गरेका थिए ।
कोरोना संक्रमणको सुरुवातमा डाक्टर पाण्डेले यसको रोकथामका लागि महत्वपूर्ण भूमिका खेलेका थिए । उनको ईच्छाशक्ति र क्षमता तथा सक्रियतामा देशमै अभाव भनिएको पिपिई नेपालगन्जमै बनाइएको थियो । यसलेशुरुका दिनमा स्वास्थ्यकर्मीलाई विरामीको उपचारमा एकदमै सजिलो बनाएको थियो ।
बाँकेको खजुरामा कोरोना संक्रमितका लागि निर्माण गरिएको कोरोना अस्पतालमा समेत डाक्टर पारसको उत्तिकै भूमिका रहेको छ । शुरुवातको संघर्ष र सचेतानात्मक कामले यतिबेला पारस पाण्डे स्वास्थ्य क्षेत्रको उच्चारणीय नाम बनेको छ ।
कोरोना संक्रमण भारतमा बढिसकेको र यसको प्रभाव पनि नेपालगन्जमा परिरहेको बेला भेरी अस्पतालको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका डाक्टर प्रकाश थापाले बाँकेमा कोरानाको हल्लीखल्लीसँगै यसको रोकथाम, बचाऊ र आमनागरिकको स्वास्थ्य परीक्षणदेखि संक्रमितको व्यवस्थापनसम्ममा महत्वपूर्ण भूमिका खेलेका छन् ।
बाँकेमा कोरोनाको संक्रमण बढ्दै जाँदा सामान्यदेखि जटिल र संक्रमतिको स्वास्थ्य जाँच र उपचारको समेत कमाण्ड सम्हालेका भेरी अस्पतालका प्रमुख थापाकै सक्रियतामा खजुरामा ४० वेडको सुविधा सम्पन्न आइसोलेसन बनाइएको थियो ।
समग्र स्वास्थ्य क्षेत्रको कमाण्डरका रूपमा रहेका प्रमुख थापा अहिले पनि विरामीको प्रभावकारी उपचार र जतिसक्दो बढी आम नागरिकको स्वास्थ्य परिक्षणमा रातदिन नभनि लागिपरेका छन् । उनी नेतृत्वको कोरोना रोकथाम विरूद्धको टीमले सक्रिय रुपमा काम गरिरहेको छ ।
बैशाख १९ गते पहिलो पटक कोरोना संक्रमित भेटिएपछि उक्त आइसोलेसनको कमाण्ड भेरी अस्पतालकै नर्सिङ अधिकृत शिला शर्माले सम्हालेकी हुन् । कोरोना संक्रमति भएको उक्त ठाउँमा मन लाएरै कसैले जान नमानेको बेला दुई बर्षको काखे बालक घरमै छोडेर संक्रमतिको सेवा र रेखदेखमा शर्माको उत्तिकै सक्रियता देखिएको थियो ।
कोरोना अस्पतालमा नर्सिङ कमाण्ड सम्हालेकी शिलाको मातहत स्टाफनर्सदेखि केही स्वास्थ्यकर्मीहरूको टीम थियो । जो टीमले कोरोनाको जोखिम मोलेरै भएपनि सक्रियतापुर्व आफनो जिम्मेवारी पुरा गरेको भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाश थापा बताउँछन् ।
भारतमा कोरोना संक्रमण बढेपछि नेपालीहरू जमुनाह नाका हुँदै नेपालगन्ज आउने क्रम पनि बढेको थियो । बाँके प्रशासन र स्थानीय तहले उनीहरूको स्वास्थ्य परीक्षणका लागि आबश्यक तयारी गरेको थियो ।
त्यहि शुरुवाती दिनदेखि आम नेपालीलाई क्वारेन्टिनमा राख्ने, उनीहरूको प्राथमिक स्वास्थ्य परीक्षण गराउँने, बस्ने र खाने बिषयमा सहजिकरण गर्ने लगायतका काममा नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्द सक्रिय थिए । अहिले पनि उपमहानगरपालिका क्षेत्रका आम नागरिकको स्वास्थ्य परीक्षण गर्ने काममा उनको सक्रियता कायमै रहेको छ ।
उनकाअनुसार उपमहानगरपालिका क्षेत्रका सबै नागरिकको स्वास्थ्य परीक्षण गर्न आवश्यक देखिएको छ । दशगजा नजिकै रहेको क्वारेन्टिनमा रहेका नेपालीको स्वास्थ्य परीक्षण गरि उनीहरूलाई प्रमाणपत्र दिने र सहजै घर फर्कने वातावरण निर्माणमा समेत चन्दको उत्तिकै भूमिका देखिएको छ ।
जिल्लाको समग्र अवस्था कोरोनाको जोखिम र स्वासथ्य सम्बन्धी निकायले गरेका कामका गतिविधीको लेखाजोखा राख्दै आम नागरिकलाई सुसूचित बनाउँने अभियानमा सञ्चारकर्मीसँगको समन्वय र सहजिकरणमा जनस्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठको पनि उत्तिकै भूमिका रहेको छ ।
कोरोनाको संक्रमण बढिरहेको नेपालगन्जका विभिन्न स्थानमा कोरोना परीक्षण भइरहेको छ । यी र यस्तै थुप्रै अनुहारहरू आम नागरिकको स्वास्थ्य परीक्षण, संक्रमितको उपचार र अन्य विविध समस्या समाधानका लागि सक्रिय भूमिका खेलिरहेका छन् ।
माथि उल्लेखित अनुहारहरूले कमाण्ड सम्हाले पनि उनीहरूको मातहतमा स्वास्थ्यकर्मीको ठूलो टीम सक्रिय रुपमा कोरोना विरूद्धको अभियानमा लागि परेको जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह बताउँछन् । उनकाअनुसार भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजका अन्य चिकितसक र ल्यावको टीम तथा स्थानीय तहका केही स्वास्थ्यकर्मीको पनि उल्लेख्य सक्रियता रहेको छ । हेरौं आगामी दिनमा कसको भूमिका कस्तो हुन्छ ?