दैलेखको कुरूप सडक । तस्विर: रेशम बुढाको फेसबुकबाट
नेपालगन्ज : विकास निर्माणका काममा गुणस्तरसँग गाँसिएका विषय अध्ययन नगर्दा आँखै अघिका योजना पनि छोटो समयमै भताभुङ हुँदै गएका छन् ।
यसको जोलन्त उदाहरण हो दैलेख बजारको कुरूप सडक । यो सडक पक्की निर्माण भएको र मर्मत गरिएको पनि धेरै बर्ष भएको छैन । तर, अहिले पनि मुख्य बजार क्षेत्रको सडकमा सवारी त परै छोडौ पैदल यात्रुलाई पनि हिडन सहज देखिदैन् ।
योजनाको परिकल्पना, सम्भाव्यता अध्ययन, निर्माण सामग्रीका स्रोतहरूको यकिन, योजना प्राथमिकीकरण, योजना छनोट, गुणस्तर प्रत्याभूति गर्ने आधारहरूको सहि प्रयोग नहुँदा र स्थानीय तह तथा सडक डिभिजनले चासो नदेखाउँदा आज उक्त सडकको हालत जीर्ण बन्दै गएको छ ।
हचुवाको तालमा छनोट गरिएका योजनाहरू, छोटो अवधिमा तयार गरिएका विस्तृत परियोजना प्रतिवेदनहरू, हतारमा गरिने ठेक्कापट्टा व्यवस्थापन, थोरै बजेट विनियोजन तथा ढिलो निकासा प्रणालीबाट भुक्तानी समस्याले थपिँदै जाने योजनाका कारण दैलेखका अधिकाश विकास योजना अहिले जीर्ण बनिरहेका छन् ।
गुणस्तरीय निर्माण सामग्रीको अभाव, व्यवस्थित प्रयोगशाला र दक्ष जनशक्तिको सधैँ अभाव, काम सुरु गर्ने बेलादेखि संगठितरूपमा आउने अवरोध, सडक सीमा अतिक्रमणबाट बिग्रेको सडकको ज्यामितीले हिजोदेखि आजसम्म दैलेख आर्जित छ ।
राजनीतिक पहुँचको आधारमा गरिने अव्यवस्थित सरुवा प्रणाली, काममा समर्पित हुने कर्मचारीलाई थन्क्याउने प्रवृत्तिले मनोबलमा आउने ह्रास, बजारमा अत्यधिक नक्कली सामानको बिगबिगी, दण्डहीनताको पराकाष्टा जस्ता कारणले आज गुणस्तरमा प्रश्नचिह्न खडा भएको यथार्थ हो ।
सदरमुकाममा जथाभावी बालुवा, गिट्टी थुपारिएको छ । गाडीहरू जथाभावी पार्किङ गरिँदै आएको छ । त्यसैले स्थानीय तहले आँटिलो भएर काम गर्नुपर्ने स्थानीय व्यवसायीहरु बताउँछन । ‘बसपार्क छ, प्रयोग हुदैन । दैलेख सदरमुकामका यस अघि पनि यातायात संचालन सम्बन्धि दर्जनौ निणर्यहरु भइसकेका छन् । तर, निर्णय काजगमै सिमित बनेका छन् । दैलेखलाई आधुनिक सुविधा बजार बनाउने जिम्मेवारी स्थानीय तहकै हो ।
विगतको तुलनामा घना बस्ती, अव्यवस्थित सहरीकरण र विकासप्रति राजनीतिक दलको दलिय र व्यक्तिगत स्वार्थका कारण यहाँ विकास निर्माणका काम सम्पादन गर्न कठिन देखिएको छ । मुख्य बजारकै सडक बिस्तारको मात्र प्रगतिको कुरा गर्ने हो भने पनि पटक्कै सन्तोष गर्ने ठाउँ नदेखिएको स्थानीय रेशम बुढा बताउँछन् ।
बजारलाई गहनाले झैँ शृंगार गर्ने सहरी सडक यतिबेला कुरूप देखिएको छ । सडक यतिखेर खाल्डाखुल्डी, पानी, उपभोक्ता सामाग्रीले अस्तव्यस्त र धुलोधुवाँको प्रकोपबाट आक्रान्त छन् । सडक प्रयोगकर्ताको स्वास्थ्य स्थिति दिन/प्रतिदिन कमजोर बन्दै गएको बुढाले बताए । सर्वसाधारण यात्रु हिलो र धुलोको मारमा छन् ।
जिल्ला भौगोलिक हिसाबले दैलेख सुन्दर छ । तर, पनि यहाँको सडकको अवस्थाले दैलेखलाई कुरूप बनाएको छ । जीर्ण सडकको मर्मत सम्भार तथा बजार व्यवस्थापनमा नारायण नगरपालिकाले खासै चासो नदेखाएको स्थानीय बताउँछन् । स्थानीयकाअनुसार दैलेख बजारको सडक मर्मत गर्ने असार मसान्तलाई कुर्नुपर्छ ?
बजारकै सडकको अवस्था दयनिय र जीर्ण हुँदा पनि नगरपालिकाले मर्मत गरेको छैन् । उक्त सडक मर्मतका लागि बजेट अभाव भएका कारण काम अघि बढाउन नसकिएको नगरपालिका स्रोतले बताएको छ ।