कपिलवस्तुमा एकैदिन १० जना थपिए, ३३ जना निको भएर घर फर्के
नेपालगन्ज: नेपालमा कोरोना भाइरस संक्रमित संख्या १ सय २० पुगेको छ । पछिल्लोपटक कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रण देखिएसगैं नेपालमा कोरोना संक्रमित संख्या १ सय २० पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु यशोधरा गाउँपालिका ५ र वुद्धभूमी नगरपालिकाको ७ र १० वडा का १० जना पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यद्यपी उनीहरुको स्वास्थ्य सामान्य रहेको छ ।
मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार १० जनामध्ये ९ जना १८ देखि ३४ वर्षीय पुरुषहरु छन् भने एक जनाको भनेर उमेर खुलेको छैन ।
यसैबीच नेपालमा हालसम्म कोरोना संक्रमण भएका मध्ये ३३ जना निको भएर घर गएका छन् । आइतबार एकैदिन दुई जना कोरोना संक्रमित निको भएपछि नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या ३३ पुगेको हो ।
झापाको बाह्रदशी गाउँपालिका निवासी ५० वर्षीय पुरुष र भोजपुरको हतुवागढीका २६ वर्षीय युवक कोरोनामुक्त भएका हुन् । विराटनगरको कोसी अस्पतालमा उपचाररत उनीहरूलाई डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर संगीता मिश्रले जानकारी दिइन् ।
भोजपुरका युवकमा गत वैशाख ११ गते कोरोना संक्रमण देखिएको थियो । उनी गत फागुनको अन्तिम साता साउदीअरबबाट नेपाल आएका थिए । यस्तै झापाका पुरुषमा यही वैशाख १४ गते संक्रमण देखिएको थियो । उनी भारतको दिल्लीबाट आएका थिए । योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ३३ पुगेको छ । जसमा दुई जनामा पुनः संक्रमण देखिएको छ ।
हालसम्म नेपालमा कोरोना भाइरस संक्रमण देखिएका ब्यक्तिहरुमध्ये कसैको पनि मृत्यु भएको छैन । सवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचारार्थ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।