सीमा सुरक्षाका लागि लिपुलेक–कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पठाउने तयारी


सीमा सुरक्षाका लागि लिपुलेक–कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पठाउने तयारी

File Photo

नेपालगन्ज:  सुदूरपश्चिम प्रदेशको लिपुलेक तथा कालापानी क्षेत्रमा सीमा सुरक्षार्थ सशस्त्र पठाउने तयारी गरिएकोछ । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी खटाउने तयारी भएअनुरुप उक्त क्षेत्रमा शसस्त्र प्रहरी पठाउन थालिएको हो ।

यसअघि स्थायी संरचना बनेपछि मात्रै सशस्त्रको टोली जाने बताइएको थियो । तर, भारतले नेपालको भूमि हुंदै चीनसम्म पुग्ने सड्क निर्माण गरेपछि तत्काल सशस्त्र प्रहरी परिचालनको तयारी भएको छ ।

व्यास गाउँपालिका १, छाङरुमा यसअघि नै सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार तत्कालका लागि अस्थायी र संरचना बनेपछि स्थायी रूपमा बस्ने गरी सशस्त्र प्रहरीको टोली त्यसतर्फ पठाइन लागेको हो । सोही क्षेत्रमा बीओपी स्थापनाका लागि जमिनसमेत सशस्त्र प्रहरीले प्राप्त गरिसकेको छ ।

सुदूरपश्चिमको कालापानी र लिपुलेक व्यास गाविसमै पर्छ । स्थानीयका अनुसार सशस्त्र प्रहरीको बीओपी स्थापना हुने भनिएको स्थानबाट कालापानी झण्डै ८–१० किलोमिटर र लिपुलेक १५ देखि २० किलोमिटरको दूरीमा पर्छ ।

सीमामा बीओपी राख्ने निर्णय पहिले नै भइसकेको हो । अहिले नै संरचना बनिसकेको अवस्था भने होइन । केही दिनमै आवश्यक उपकरण, हतियारसहित बन्दोवस्तको टोली त्यहाँ पुग्नेछ ।

बीओपीको मुख्य काम सीमामा अपराध नियन्त्रण, राजस्व चुहावट रोक्ने र सीमा सुरक्षा मुख्य दायित्व हो । यसअघि दार्चुला सदरमुकाममा सशस्त्र प्रहरीको गुल्म मात्रै थियो । हाल भारतसँग सीमा जोडिएका ११९ स्थानमा बीओपी रहेको छ ।