गृहको निर्देशन मान्नुपर्छ भन्ने छैन, जिल्लाको आफ्नै निर्देशन हुन्छ: सहायक प्रजिअ बाँके

पावरमा युवतीलाई पास, प्रशासनले पास दिंदैन कसरी उद्योग खोल्ने: उद्योगी


गृहको निर्देशन मान्नुपर्छ भन्ने छैन, जिल्लाको आफ्नै निर्देशन हुन्छ: सहायक प्रजिअ बाँके

दीर्घराज उपाध्याय, सहायक प्रमुख जिल्ला अधिकारी बाँके ।

नेपालगन्ज: बाँके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जिल्लाले गृह मन्त्रालयको निर्देशन मान्नुपर्छ भन्ने जरुरी नभएको बताएका छन् ।

सरकारले लकडाउनमा पनि ४२ खालका उद्योगहरु खोल्न पाउने निर्णय गरेपछि गृह मन्त्रालयले चारैतिर जानकारी गराएको थियो । त्यसै निर्णयमा टेकेर जिल्ला प्रशासन कार्यालय बाँके पुगेका उद्योगीहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले ठाडो रुपमा उत्तर दिंदै गृह मन्त्रालयको निर्देशन जिल्लाले मान्नु पर्ने जरुरी नभएको बताएका हुन् ।

यहाँका उद्योग सञ्चालकहरु उद्योग सञ्चालन गर्नका लागि गाडीको पास लिन जिल्ला प्रशासन कार्यालय बाँके पुगेका थिए । उनीहरुले सहायक प्रमुख जिल्ला अधिकारीलाई भेटी घरबाट उद्योग जान र उद्योगबाट घर फर्कनका लागि पासको व्यवस्था गरिदिन भनेका थिए ।

‘उद्योग खोल्नुस् न कसले रोकेको छ’ तपाईहरुलाई ठाडो तरिकाले झर्केर जवाफ दिए सहायक प्रजिअ उपाध्यायले । अनि उद्योगीहरुले भने हामीले ‘दुरुपयोग गर्ने होइन घरबाट उद्योग त पुग्नु पर्यो फर्किनु पर्यो । सरकार गृह मन्त्रालयले उद्योग खोल भन्छ निर्णय गर्छ तपाईहरुले पास दिनुहुन्न कसरी खोल्ने उद्योग’ भनि जिज्ञासा गरे ।

उद्योगीहरुको जवाफमा सहायक प्रजिअ उपाध्यायले फेरी भने ‘गृह मन्त्रालयको सूचना राम्रोसँग पढ्नु भएको छ ? नपढेको भए पढ्नुस् । गृह मन्त्रालयको निर्देशन हामीले मान्नुपर्छ भन्ने छैन । जिल्लामा हाम्रो निर्देशन लागु हुन्छ । तपाईहरुलाई पास दिने नदिने बारे हाम्रो अझैं निर्णय भएको छैन । निर्णय भएपछि भनौंला ।’ कोरोनाका कारण लकडाउनपछि देशभरका उद्योग बन्द भएपछि सरकारले उद्योग खोल्न पाउने निर्णय गरेकोछ ।

पावरमा युवतीलाई पास

उद्योग सञ्चालनका लागि गाडीको पास लिन जिल्ला प्रशासन कार्यालय बाँके पुगेका उद्योगीहरुलाई पास दिन इन्कार गरिरहेका बेला एक युवती सहायक प्रजिअ दीर्घराज उपाध्यायको कोठामा प्रवेश गरिन् । त्यतिकैमा सिडिओका पिए रोम गौतमले एउटा सानो कागज ल्याएर सहायक प्रजिअ उपाध्ययको टेबलमा राखिदिए ।

सो कागज नै गाडीको पास रहेछ । अनि सहायक प्रजिअ उपाध्यायले ती युवती तिर पुलुक्क हेरे अनि त्यो पासमा हस्ताक्षर गरे । उक्त पास युवतीको हातमा थमाए र उनी सबैलाई हेर्दै बाहिर निस्किन् । ती युवतीले के को पास लिएर गईन भनि जानकारी लिंदा सिडिओका पिए गौतमले भने ‘कुखुराको दाना ल्याउनु पर्ने रे त्यसैको पास हो ।’

उद्योग सञ्चालनका लागि आउजाउ गर्न पास माग्दा दिन मिल्दैन भनि जवाफ दिएका सहायक प्रजिअ उपाध्यायले ती युवतीलाई भने सुटुक्क पास दिएर पठाएकोमा सबै उद्योगीहरु आश्चर्यचकित भए । आफन्त र पावरवालाहरुलाई जिल्ला प्रशासन कार्यालय बाँकेले पास दिइरहेको र वास्तिविक उद्योग चलाउनेहरुले पास नपाइरहेको प्रति बाँकेका उद्योगीहरुले दुःख व्यक्त गरे ।