सप्तरीमा भेटियो कोरोना संक्रमित


सप्तरीमा भेटियो कोरोना संक्रमित

नेपालगन्ज: देशको तराई क्षेत्रमा यतिबेला कोरोना भाइरस संक्रमण फैलिरहेकोछ । यसैबीच पूर्वी तराईको सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना संक्रमण देखिएको हो ।

योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको छ । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना भाइरसका कारण नेपालमा कसैको पनि मृत्यु भएको छैन । ३३ जना निको भएर घर फर्किसकेकाछन् ।