संक्रमित संख्या १ सय ३४ पुग्यो
नेपालगन्ज : नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही र बर्दियामा गरी १३ जना नयाँ संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ गरी १३ जना संक्रमित थपिएका हुन् । यो सहित नेपालमा संक्रमितको संख्या १३४ पुगेको छ ।
उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
प्रस्तावित लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा पहिलोपटक कोरोना संक्रमित भेटिएकोछ । बर्दिया राजापुर नगरपालिका–५ जयपुर कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको हो ।
यस्तै सोमबार बेलुका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका– ८ र बुद्धभूमि नगरपालिका–७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका–७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका–६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार साँझ ६ जना थपिएको हो ।
हालसम्म कोरोना भाइरसका कारण नेपालमा कसैको पनि मृत्यु भएको छैन । ३३ जना निको भएर घर फर्किसकेकाछन् ।