पर्साका दुई पत्रकारलाई कोरोना संक्रमण


पर्साका दुई पत्रकारलाई कोरोना संक्रमण

सांकेतिक तस्विर

नेपालगन्ज: नेपालमा एकैदिन भेटिएका ५७ कोरोना संक्रमित मध्ये २ जना पत्रकार रहेको पुष्टि भएकोछ । पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस संक्रमितमध्ये दुई जना पत्रकार भएको पाइएको हो ।

नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले संक्रमितमध्ये २ जना पत्रकार भएको पुष्टि गरेका छन् ।

वीरगञ्जमा पहिलो पटक गत चैत्र ३१ मा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जका पत्रकारहरले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए ।

संक्रमित जिल्लाका अग्रज पत्रकार रहेको बुझिएकोछ । कोरोना भाइरस संक्रमित भएका पत्रकारको विस्तृत विवरण भने नारायणी अस्पतालका मेसु डाक्टर उपाध्याले खुलाएका छैनन् ।

यतिबेला संक्रमितहरुसँग सम्पर्क भइरहेको हुँदा कति जना पत्रकार संक्रमित छन् भन्ने त्यसपछि मात्रै थाहा हुने डाक्टर उपाध्याय बताउँछन्  पर्सा जिल्लामा क्रियाशील ती पत्रकारले रिपोर्टिङका क्रममा शंका लागेर नमुना परीक्षण गराएका थिए । नमुना परीक्षण गराएका ती पत्रकारमा आज मंगलबार कोरोना भाइरस संक्रमण भएको पुष्टि भएकोछ ।

उनीहरूलाई कहाँ राख्ने विषयमा छलफल चलिरहेको उपाध्यायले जानकारी दिए । उनले फिल्डमा खटिने सञ्चारकर्मीमा समेत अति जोखिममा रहेको भन्दै जोगिएर रिपोर्टिङ गर्न आग्रह गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्गलबार जारी गरेको सूचना अनुसार पर्सामा मात्र ३९ जना कोरोना संक्रमित थपिएकाछन् । यस्तै कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिए । यसअघि हिजो सोमबार मात्रै २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो ।

यसअघि कोरोना संक्रमित दुई जना पत्रकार हुनुपर्नेमा अन्यथा भएकाले क्षमाप्रार्थीसहित सच्याइएको छ । -स.