सांकेतिक तस्विर
नेपालगन्ज : देशमै पहिलोपटक नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।
विश्व नर्सिङ्ग दिवसकै दिन कोरोना संक्रमित ब्यक्तिको उपचारमा संलग्न नर्समा कोरोना भाइरस पोजेटिभ देखिएको हो । अस्पतालकी नर्समा कोरोना संक्रमण भएको नेपालमा पहिलो पटक हो ।
कपिलवस्तुमा मंगलवार संक्रमण पुष्टि भएका नौं जनामध्ये आठ जना कपिलवस्तु नगरपालिकाका क्वारेन्टिनमा रहेका र एक जना जिल्लाको तौलिहवा अस्पतालमा काम गर्ने नर्समा कोरोना पुष्टि भएकोछ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले भने, ‘आठ जना क्वारेन्टिनमा रहेका र एक जना अस्पतालमा काम गर्ने सिस्टर रहेको जानकारीमा आएको छ ।’
तौलिहवा नगरपालिकाका प्रमुख किरण सिंहले स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जानकारी गराए । उनले भने, ‘मैले अस्पतालका मेसुसँग कुराकानी गरे । सबैजना स्वास्थ्यकर्मीको जाँच गरिएको हो । उहाँमा पोजेटिभ आएको छ ।’
तौलिहवा अस्पतालका मेसु डाक्टर किसोर बञ्जाडेले आफूलाई पनि स्वास्थ्यकर्मीमा कोरोना देखिएको भन्ने खबर आएको बताए । प्रदेशको सामाजिक विकास मन्त्रीका प्रेस सल्लाहकार रुद्रहरि कुँवरले पनि स्वास्थ्यकर्मीमा कोरोना देखिएको पुष्टि गरेका छन् ।
यसअघि मात्रै नेपालमा पहिलोपटक २ जना पत्रकारमा कोरोना भाइरस संक्रमण भएकोछ । पर्सा जिल्लाका दुईजना पत्रकारलाई कोरोना भाइरस संक्रमण भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले संक्रमितमध्ये २ जना पत्रकार भएको पुष्टि गरेका छन् ।