बारामा निषेधाज्ञा अवधि बढाइयो


बारामा निषेधाज्ञा अवधि बढाइयो

नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञाको अवधि बढाएकोछ । देशमा मङ्गलबार मात्रै पत्रकार र नर्ससहित ५७ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि यस्तो निर्णय गरिएको हो ।

बारा जिल्लाको क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख २५ गते जारी भएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउँदै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

मध्य तराईको बारा र पर्सामा कोरोना संक्रमितको संख्यामा बृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले पर्साको वीरगञ्जबाट कार्यालयको काम तथा अन्य प्रयोजनका लागि बारा आवतजावत हुने जस्तै ः अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत, सञ्चार, खानेपानी, बैंक, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधि, एम्बुलेन्स बाहेक अन्य सवारी साधनहरुलाई पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ ।

संक्रमणको जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी प्रयोजन बाहेकका हस्तलिखित तथा ई–पास समेत भोलि बुधबारदेखि खारेज गर्ने उक्त बैठकले निर्णय गरेको छ ।

यस्तै बैठकले छिमेकी राष्ट्र भारत आवतजावतमा पूर्णरुपमा बन्देज लगाउँदै अत्यावश्यक काम बाहेक घरदेखि बाहिर ननिस्कन आग्रह गरेकोछ ।