नेपालगन्ज: अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमित भागेकाछन् । वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा उपचार गराईरहेका ती संक्रमित बुधबार भागेका हुन् ।
अस्पतालको आइसोलेसन कक्षबाट कोरोना संक्रमित राजनाथ यादव र असफर हवारी भन्ने दुईजना फरार भएको अस्पतालले जनाएको छ । उनीहरु अस्पतालको शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन्। उनीहरु मंगलबार भर्ना भएका थिए।
कोरोना संक्रमित भागेपछि यतिबेला उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । फरार भएकाहरु पर्साकै भएको बताइएको छ ।
पर्सामा संक्रमित तीव्र गतिमा थपिएपछि मंगलबारदेखि आगामी जेठ ५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । हालसम्म पर्सामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।