कालापानीमा राखियो सशस्त्र प्रहरीको बीओपी


कालापानीमा राखियो सशस्त्र प्रहरीको बीओपी

File Photo

नेपालगन्ज : लामोसमयपछि सुदूरपश्चिम प्रदेशको दार्चुला स्थित छारुङमा सशस्त्त प्रहरी बलको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना गरिएकोछ ।
सीमा सुरक्षाका लागि नेपाल सरकारले यसअघि तय गरेको कार्य अनुरुप उक्त क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको हो ।

भारतले दादागिरीशैलीमा नेपाली भूमी अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै सशस्त्र प्रहरीको उक्त बीओपी स्थापना गरिएकोछ । योसगैं सो क्षेत्रमा सरकारले आफ्नो उपस्थिति जनाएको हो । लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा आक्रोश बढेको छ ।

बुधबार सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको हो ।

नेपाली सेनाको एम–१६ हेलिकोप्टरमार्फत थापासहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार ईन्द्रजित राई लगायतको टोली दार्चुला पुगेको थियो । दार्चुला सदरमुकामको नेपाली सेनाको ब्यारेकमा हेलिकोप्टर अवतरण गरिएको थियो । त्यहीँबाट सशस्त्र प्रहरीको १२ जनाको टोलीलाई छाङरुमा लगिएको थियो ।

पहिलोपटक स्थापना गरिएको उक्त बीओपीमा आज मात्रै सशस्त्र प्रहरीको २५ जनाको टिम राखिएकोछ । थप टोली बन्दोबस्त सहित भोली पठाउने तयारी गरिएको बुझिएकोछ ।

विवादित कालापानी क्षेत्रबाट १२ किलोमिटर वर स्थापित बीओपीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दले गर्दैछन् । यही ठाउँमा नेपाल प्रहरीको चौकी पनि छ । यद्यपि, बाह्रै महिना सुरक्षाकर्मीको उपस्थिति भने यहाँ हुने गरेको छैन ।

छाङ्रुमा भाडाको घरमा बीओपी स्थापना गरिएको हो । चाँडै सशस्त्र प्रहरीले अस्पतालसहितको भौतिक संरचना बनाउन थाल्ने पनि जनाइएको छ ।