नेपालगन्ज: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या सच्याएको छ । यसअघि नेपालमा २५० जना कोरोना संक्रमित रहेको तथ्यांक सार्वजनिक गरेको मन्त्रालयले गल्ती सच्चाउदैं अर्काे सूचना निकालेर संक्रमितको संख्या २ सय ४५ नै रहेको जनाएको जनाएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान २ पटक सार्वजनिक गरेको तथ्यांक गलत रहेको भन्दै पुनः सच्याएको हो ।
मन्त्रालयले बिहीबार बिहान पहिलो पटक २ र दोस्रो पटक ५ गरी ७ जना कोरोना संक्रमित थपिएको सूचना बाहिर ल्याएको थियो । तर, उक्त सूचनामा दोस्रो पटक ५ जना थपिएको भनिएको सूचना गलत रहेको भन्दै मन्त्रालयले आफ्नो गल्ती सच्याएको छ ।
मन्त्रालयले बिहीबार बिहान गरेको नयाँ अपडेटअनुसार कुल २ सय ५० जना संक्रमित भएको जनाएकोमा यी २ सय ५० जनामा दुई दिन अगाडि नै संक्रमित भनिसकिएका धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका ४० वर्षीय पुरुष, मिथिला नगरपालिका १० लालगढका २० वर्षीया युवती तथा महोत्तरीको जलेश्वर नगरपालिकाका ३५ वर्षीय पुरुष तथा महोत्तरीकै बलवा नगरपालिकाका १६ वर्षीय बालक र सर्लाहीको हरिपूर्वा नगरपालिका ३ धनकौलका ४५ वर्षीय पुरुष भनिएको छ । यी पाँचै जनालाई प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा बुधबारै ल्याइसकिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले प्राविधिक कारणले पहिला नै पुष्टि भएका ५ जनाको विवरण पुनः रिपोर्टिङ भएको भन्दै हालसम्म संक्रमितको संख्या २ सय ४५ मात्र रहेको सूचना सार्वजनिक गरेका हुन् । कोरोना भाइरस संक्रमणको जोखिममा स्वास्थ्य मन्त्रालयबाटै भएको गल्तीलाई यतिबेला सामाजिक सञ्जालमा ट्रोल बनिरहेकोछ ।