राहत वितरणमा हिँडेका कर्मचारी र प्रहरीका चालक समेत संक्रमित

४ जना सुरक्षाकर्मी सहित जिल्लामा ३९ जनामा संक्रमण


राहत वितरणमा हिँडेका कर्मचारी र प्रहरीका चालक समेत संक्रमित

कपिलवस्तु : कपिलवस्तुमा हालसम्म ६ वर्षीया बालिकासहित ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण देखिनेमा सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारी समेत रहेको पाइएको छ ।

संक्रमितमध्ये धेरैजसो रोजगारीका लागि भारत गएर फर्किएका रहेका छन् । भारतका विभिन्न स्थानबाट फर्किएका ३२ संक्रमित भारतबाट आएर क्वारेण्टाइनमा बसेका हुन् । यस्तै ६ जना दैनिक काममा धेरैसंग संम्पर्क रहेका व्यक्ति हुन् भने एक ६ वर्षकी बालिका हुन् ।

पछिल्लो पटक बाणगङ्गा नगरपालिका– ४ की ६ वर्षीयामा आज बिहान कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ । बाणगङ्गामा पहिलो पटक बालिकामा कोरोना संक्रमण फेला परेको हो । बालिकाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचारका क्रममा संक्रमण भएको अनुमान गरिएको छ ।

यता बुधबार साँझ नयाँ आठ जनामा संक्रमण पुष्टि भएकामध्ये चार सुरक्षाकर्मी छन् । प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीका दुई तथा राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरीका एकएक जनामा कोरोना देखिएको हो । तीमध्ये एक प्रहरीका चालक छन् । चालक संक्रमित पुष्टिपछि उनले दैनिक चलाउने गरेको सवारी साधनमा सवार हुने अन्य प्रहरी कर्मचारीमा पनि आशंका बढेको छ ।

भेटिएका आठ संक्रमितमध्ये तीन जना नगरपालिकाको वडा नम्बर २ मा निर्मित महेन्द्र माविको क्वारेन्टिनमा बसेका थिए । तीमध्ये दुई जना नगरपालिकाका कर्मचारी रहेको कृष्णनगर नगरपालिकाका स्वास्थ्य संयोजक अनिलकुमार बिश्वकर्माले जानकारी दिए ।

एक जना नगरपालिकाका सरसफाइकर्मी हुन् । उनी क्वारेन्टिनमा बस्दै आएका थिए भने अर्को एक जना पालिकाकै कृषि शाखा प्रमुख रहेको नगर प्रमुख रजतप्रताप शाहले जानकारी दिए ।

उनी यस बीचमा राहत वितरण र भारतबाट आएकाको उद्धारमा सक्रिय रहेको र पालिकामा आउने जाने गरेकाले संक्रमण धेरैका बीच फैलिन सक्ने शाहले आशङ्का गरे ।

यस्तै दुईमध्ये एक जना केही दिनअघि झापाबाट आएका र एक जना भारतबाट आएर क्वारेन्टिनमा बसेको उनले जानकारी दिए । कपिलवस्तुको कोरोना संक्रमित स्वास्थ्यकर्मी संक्रमणको नतिजा आउँदासम्म दैनिक कामकाजमा तौलिहवा अस्पतालमा कार्यरत थिइन् । उनले आफ्नै घरबाट आवतजावत गर्ने गरेकी थिइन् । उनलाई उपचारका लागि कपिलवस्तु अस्पतालको आइसोलेशनमा राखिएको छ । -रासस