नेपालगन्ज : सर्वोच्च अदालतले कोरोना भाइरस जाँचको दायरा बढाउन सरकारलाई आदेश दिएकोछ । सर्वोच्च अदालतले कोरोना भाइरस महामारी नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको हो ।
न्यायाधीश डाक्टर मनोजकुमार शर्माको एकल ईजलासले पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन भन्दै सरकारलाई यस्तो निर्देशन दिएको हो ।
अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाई गर्दै अदालतले सरकारका नाममा कारण देखाऊ आदेश समेत जारी गरेको छ ।
कोभिड–१९ सँग सम्बन्धित रिट लिएर गएका निवेदकले अन्तरिम आदेशको माग गरे पनि अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ सहित उपस्थित हुन भनेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण देखिएकोछ । भने ३५ जना निको भएर घर फर्किसकेकाछन् ।
हालसम्म कोरोना भाइरसका कारण नेपालमा कसैको पनि मृत्यु भएका छैनन । उपचाररत सवैको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएकोछ ।