खजुरामा क्वारेन्टिन निर्माण कार्य तिव्र

प्रत्येक वडामा रहेका सामुदायिक विद्यालयलाई अस्थायी क्वारेन्टिन बनाइदै


खजुरामा क्वारेन्टिन निर्माण कार्य तिव्र

खजुरा (बाँके): बाँकेको खजुरा गाँउपालिकाले क्वारेन्टिन निर्माण कार्यलाई तिव्रता दिएकोछ । गाँउपालिकाका नागरिक नेपाल–भारत सीमा नाकाबाट नेपाल भित्रिने क्रम नरोकिएपछि उनीहरुको उचित ब्यवस्थापनका लागि क्वारेन्टिन निर्माणलाई तिव्रता दिएको हो ।

गाँउपालिकाको तथ्यांक अनुसार दोस्रो तथा तेस्रो मुलुक गरि करिब ३ हजार बढी नागरिक देश बाहिर रहेकाछन् । कोरोना भाइरस जोखिम बढेपछि उनीहरू घरफर्किरहेकाले कोरोनाको जोखिम हुन नदिइ सुरक्षित तरिकाबाट व्यवस्थापन गर्न पूर्वतयारी अनुरुप क्वारेन्टिन निमार्ण कार्यलाई तिव्रता दिएको गाँउपालिका अध्यक्ष किस्मत कुमार कक्षपतीले जानकारी दिए ।

क्वारेन्टिन निर्माण कार्य अन्र्तगत खजुरा गाँउपालिका वडा नम्बर २ सितापुरमा र वडा नम्बर ३ धौलागिरीमा सर्वपक्षीय बैठकले क्वारेन्टिन व्यवस्थापन समिति समेत निर्माण गरेको छ ।

खजुरा गाउँपालिका राजनीतिक सल्लाहकार भिम ओलीका अनुसार शुक्र माबी के गाउँमा क्वारेन्टिन राख्ने निर्णय गर्दै योगिनी माबी गौघाट र अमर मावि सी गाउँलाई बैकल्पिक क्वारेन्टिनको रुपमा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

गाँउपालिकाले वडाध्यक्ष देविलाल खनालको संयोजकत्वमा सर्वदलीय ९ सदस्यीय मुल समिति गठन गरेको छ । दोस्रो मुलुक भारत र तेस्रो मुलुकबाट वडा नम्बर २ मा ५ सय जना सितापुरमा आउन सक्ने आँकलन बैठकले गरेकोछ । बैठकले क्वारेन्टिनको ब्यवस्थापन भोलि देखि गर्ने निर्णय गरेकोछ ।

गाँउपालिकाका नागरिकलाई हरेक वडाको स्कुलमा अस्थायी क्वारेन्टिन निर्माण गरि राख्ने नीतिका साथ खजुरा गाँउपालिका अघि बढेकोछ ।
सोही अनुसार वडा नम्बर ३ को नेरा आधारभूत धौलागिरीमा वडा सदस्य देउमाया थापाको संयोजकत्वमा गठित समूहलाई पुर्णता दिइएको छ ।
ती क्वारेन्टिनमा सर्वपक्षीय निगरानी गर्ने निर्णय गरेको खजुरा गाउँपालिका सूचना अधिकृत दीलबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार खजुरा गाउँपालिकाको संकलित विवरणमा ३ हजार मानिस बाहिर रहेका छन् ।

सर्वपक्षीय संयन्त्र निर्माण गरि उनीहरूको निगरानी गरिनेछ । खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिले सीमावर्ती पालिकाले आफ्नो तयारी अगाडि बढाएको बताए ।

खजुरा गाँउपालिकाको वडा नम्बर ४ मा पनि सर्वदलीय बैठकले क्वारेन्टिन निर्माण गर्दै वडाका ४ विद्यालयलाई अस्थायी क्वारेन्टिन बनाएको छ । अन्य वडामा पनि त्यही अनुसार अगाडि बढने जनाइएको छ ।

यसैवीच केही दिन अघि बसेको कार्यपालिका बैठकले दोस्रो चरणको राहत वितरण गर्ने निर्णय पनि गरेको छ । राहत पाउने व्यक्ति छनोटका लागि सर्वदलीय संयन्त्र बनाएर एकहप्ताभित्र गाउँपालिकालाइ विवरण पेश गर्ने निर्णय भएको सूचना अधिकृत पौडेलले जानकारी दिए । पहिलो चरणको राहत १ हजार ७ सय ४४ जनालाई वितरण गरिएको थियोे ।

२५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल पहिले वितरण गरेकै राहत प्याकेज पुनः वितरण हुने जनाइएको छ ।

पौडेलका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम पनि सञ्चालनमा ल्याउने तयारी भएको छ । यसपटक खजुरामा रोजगार कार्यक्रमका लागि ७५ लाख रुपैयाँ बजेट आएको छ । यो कार्यक्रम अन्तर्गत सार्वजनिक सरोकारका सडक, नाला, मन्दिर, खेल मैदान निर्माणका लागि काम दिने गरिएको छ ।