सीमामा अलपत्र परेका नेपाली र भारतीयलाई आ–आफ्नो देश पठाइयो


सीमामा अलपत्र परेका नेपाली र भारतीयलाई आ–आफ्नो देश पठाइयो

तस्विर साभार शुक्रऋषी चौलागाईको फेसबुक वालबाट ।

नेपालगन्ज : कोरोना भाइरसका कारण जारी लकडाउन र नेपाल–भारत सीमा बन्दमा अलपत्र परेका नागरिकलाई आ–आफ्नो देश पठाउने र ल्याउने कार्य सम्पन्न भएकोछ ।

नेपालगन्ज जमुनाह नाकाबाट हिजो बिहीबार अबेर रातीमात्रै नेपालमा रहेका भारतीयलाई भारत पठाइएको थियो भने भारतमा रहेका नेपालीलाई नेपाल ल्याइएको हो ।

सोक्रममा बाँकेका विभिन्न क्वारेन्टिन तथा मजदूरीका लागि आएका १ हजार ४ सय ८३ भारतीयलाई पठाइएको छ । भने भारतमा रहेका ६ सय ८७ जना नेपालीलाई नेपाल ल्याइएकोछ ।

यतिबेला नेपाल–भारत सीमानाका जमुनाहमा आवगमन रोकिएको छ । भारतबाट नेपाल ल्याइएका नेपालीको आरडिटि परीक्षणपछि सम्बन्धित जिल्लासंग समन्वय गरे उनीहरुलाई गन्तब्यसम्म पुर्याउने व्यवस्था गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताए ।

प्रदेश सांसद कृष्ण केसी नमुनाको नेतृत्वमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, बाँके प्रहरी प्रमुख वीरबहादुर ओली र नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर तथा भारतीय उच्च अधिकारीको सहयोगमा उनीहरुलाई आ–आफ्नो देशमा पठाइएको हो ।

प्रदेश सांसद केसीको सक्रियतामा विगत लामो समयदेखि नेपाल र भारतका क्वारेन्टिनमा बसेका आम नागरिकलाई आ–आफ्नो देशमा पठाउने कार्य हिजो बिहीबार अबेर राती उच्च स्तरको प्रक्रिया अघि बढेको थियो ।

यसबीच नेपालका बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र भारत बहराईच जिल्लाका डिएमबीच दुवैदेशको सीमानाकाको सुरक्षा कडा र चुस्तदुरुस्त बनाउने उच्चस्तरीय समन्वय र सहकार्य भएकोछ ।

नेपाल–भारत दुबैदेशका अधिकारीबीचको समयन्वमा नेपालमा रहेका भारतीय र भारतमा रहेका नेपालीलाई आ–आफ्नो देश लाने र लैजाने ब्यवस्था मिलाइएको थियो ।