बाँके नरैनापुरका ८ जना कोरोना संक्रमितलाई दाङ पठाइयो


बाँके नरैनापुरका ८ जना कोरोना संक्रमितलाई दाङ पठाइयो

नरैनापुर(बाँके): बाँके जिल्लामै पहिलोपटक गाउँपालिकामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । यसअघि बाँकेको नेपालगन्जमा कोरोना भाइरस संक्रमित भेटिएका थिए । बाँकेको गाउँपालिकामा पहिलोपटक नरैनापुर गाउँपालिकामा कोरोना संक्रमित भेटिएको हो ।

केही दिन पहिले भारतका विभिन्न स्थानबाट नेपाल आएका उनीहरुलाई गाउँपालिकाले नरैनापुरका विभिन्न क्वारेन्टिनमा राखेको थियो । रेन्टिनमा राखिएका मध्येको ४८ जनाको स्वाब परीक्षण गर्दा आज शुक्रबार मात्रै ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।

गाउँपालिकाको क्वारेन्टिनमा रहेका कोरोना भाइरस पोजेटिभलाई शुक्रबार अपरान्ह पौने ४ बजे दाङ पठाइएकोछ । दाङको बेलझुण्डीस्थित कोरोना विशेष आइसोलेसन कक्षमा राख्न उनीहरुलाई एम्बुलेन्समा राखेर त्यसतर्फ पठाइएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।

बाँकेमा आइसोलेसन कक्षको अभाव भएपछि उनीहरुलाई उता पठाइएको बुझिएकोछ । प्रस्तावित लुम्बिनी प्रदेशको बाँके र कपिलबस्तुमा गत वैशाख १९ गते पहिलो पटक एक–एक जना कोरोना संक्रमित फेला परेका थिए । सोयता बाँकेको नेपालगन्जमा २५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेकोछ । भने आज शुक्रबार थप भेटिएका ८ जना कोरोना संक्रमित गरि जिल्लामा कोरोना भाइरस संक्रमित संख्या ३३ पुगेको छ ।

आज बिहान मात्र नरैनापुरको वडा नम्बर १, ३ र ५ का ८ जना पुरुषलाई कोरोना संक्रमणको पुष्टि भएको थियो । उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । नरैनापुरका विभिन्न क्वारेन्टिनमा अहिले ५ सय बढी नागरिक छन् ।

यसबीच नेपाल–भारत सीमानाका नजिक रहेको उक्त गाउँपालिकाका विभिन्न नाकामा भारतबाट आउने क्रम जारी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए ।

थप समाचार

गाउँपालिकाले उद्दार गरेका ब्यक्तिमा कोरोना देखियो