बाराका एक प्रहरी सहित थप ३ जनामा कोरोना पुष्टि

देशमा कोरोना संक्रमितको संख्या २७६ पुग्यो


बाराका एक प्रहरी सहित थप ३ जनामा कोरोना पुष्टि

सांकेतिक तस्विर

नेपालगन्ज : बारा जिल्लामा पहिलोपटक एक प्रहरीलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक जना प्रहरी जवानलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले उनमा कोरोना संक्रमण पाइएको टेकु अस्पतालले पुष्टि गरेको बताए । स्रोतका अनुसार संक्रमित प्रहरी जवान जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा शाखामा कार्यरत भएकाले उनको सम्पर्कमा आएका २५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

यसअघि काठमाडौंमा दुई जना सशस्त्र प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । कपिलवस्तुमा पनि नेपाल प्रहरीका सई र हवल्दारसहित सशस्त्र प्रहरीका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

यस्तै शनिबार दिउँसो कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुको चन्द्रौटाका २५, ३४ र ४४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

शनिबार कपिलवस्तुमा थपिएका ३ संक्रमितसहित नेपालमा संक्रमितको संख्या २७६ पुगेको छ । संक्रमितमध्ये हालसम्म ३६ जना निको भइसकेका छन् ।

आजै बिहान बर्दिया, सिराह, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका थिए ।  गत माघ १० गते पहिलो कोरोना संक्रमित नेपालमा देखिएको थियो । हालसम्म नेपालमा कोरोना भाइरसबाट कसैको मृत्यु भएको छैन भने कोरोनालाई जितेर घर फर्किनेको संख्या पनि बढेर आएकोछ । हालसम्म ३६ जना कोरोना संक्रमित निको भइसकेकाछन् ।