संक्रमितको संख्या २९१ पुग्यो, कोरानाका कारण एक जनाको मृत्यु
नेपालगन्ज: नेपालमा कोरोना भाइरस संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । आईतबार बिहानसम्म रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएसगैं नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको राजपुर नगरपालिका फरहदाका १८ देखि ४८ वर्षका पुरुष र रौतहटकै इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षका ७ जना पुरुषमा कोरोना देखिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेखछ ।
उनीहरुको कोरोना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको थियो । हालसम्म उनीहरूको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
शनिबार नेपालमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको थियो । मृतक सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया महिला हुन् । हालसम्म देशभर संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन् ।