कोरोना कहर : दाहसंस्कारमै पीपिई अभाव


कोरोना कहर : दाहसंस्कारमै पीपिई अभाव

नेपालगन्ज : प्रस्तावित लुम्बिनी प्रदेशको बाँकेसहित देशभरका अधिकाशं ठूला अस्पतालमा यतिबेला पीपिई लगायतका साधनको अभाव देखिएको छ ।

प्रयाप्त पीपिई अभावममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरोकारवाला आफै कोरोना संक्रमितको जोखिममा देखिएका छन् । विरामी उपचार र नागरिकको स्वाव संकलनमा लागिरहेका स्वास्थ्यकर्मी त्रसित अवस्थामा काम गर्न बाध्य छन् । तर, आवश्यकताअनुसार पीपिई व्यवस्थापनमा संघीय सरकारको स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार र स्थानीय तह समेत उदासिन देखिएका छन् ।

यतिबेला कोरोना संक्रमणका विरामी बढिरहेका छन् । उनीहरूलाई आइसोलेसनमा राखिएको छ । तर, उनीहरूको उपचारमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षामा रहेका सुरक्षाकर्मीलाई पीपिई प्रयाप्त मात्रामा नभएको गुनासो आइरहेको छ ।

बाँकेको नरैनापुर गाउँपालिका स्थित क्वारेन्टिनमा रहेका एक युवकको आईतबार निधन भएकोछ । भारतको मुम्बईबाट घर फर्किएका २५ वर्षिय ती युवकलाई वैशाख ३० गते गाउँपालिकाको क्वारेन्टिनमा राखिएको थियो ।

उनको निधनको कारण भने खुलेको छैन । तर, स्वाब परीक्षणमै छ । नरैनापुर गाउँपालिका स्थित स्वास्थ्य शाखा प्रमुख महिम खाँका अनुसार यदि रिर्पोट पोजेटिभ आएको अवस्थामा उनको दाहसंस्कारका क्रममा चाहिने जति पनि पीपिई पालिकासंग छैन ।

उनकाअनुसार गाउँपालिकाको स्वास्थ्य शाखामा पाँचवटा जति पीपिई होला । त्यति पीपिईले दाहसंस्कारमा सहभागी हुने स्वास्थ्यकर्मी, मृतकका आफन्त र सुरक्षाकर्मीलाई अपुग हुने देखिएको छ । बाँकेमा पीपिईको अभावमा अर्काको सुरक्षा दिने सुरक्षाकर्मी आफैँ नै असुरक्षित रहेको अवस्थामा छ ।

कोरोनाको संक्रमित र आशंका गरिएकाको उपचार तथा परीक्षणका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अनिवार्य मानिने व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपिई) कै अभाव देखिएको छ । मास्क, हेल्मेट, हेड कभर, बुट, गाउन, पञ्जा, चस्मा पीपिई अन्तर्गत पर्ने स्वास्थ्यकर्मी बताउँछन् । जसले स्वास्थ्यकर्मीलाई बिरामीबाट हुन सक्ने संक्रमण तथा जोखिमबाट सुरक्षा प्रदान गर्छ । तर, विरामीको सिधा सम्पर्कमा पुग्ने बाँकेका स्वास्थ्यकर्मीका लागि पर्याप्त पीपिई नभएको गुनासो आइरहेको छ ।

सरकारले कोरोना संक्रमितको उपचारका लागि एक हजार आइसोलेसन वार्ड र २ सय ३५ आइसियु शैयाको व्यवस्था गर्ने तयारी गरेको छ । तर, त्यही आइसोलेसनमा उपचार गर्नका लागि अनिवार्य मानिएको पीपिईको अभाव देखिएको छ ।

बाँकेको नेपालगन्जमा रहेको प्रमुख सरकारी अस्पतालमा पनि पीपिईको अभाव हुन थालेको बुझिएको छ । कतिपयले गाउँपाकिलाले मागेर चलाएका छन् । कति पालिकाले जसोतसो जोहो गरिरहेको बताएका छन् । यहाँको उपमहानगरपालिका बाहेकका कोहलपुर नगरपालिका र ६ वटै गाउँपालिकामा आवश्कताअनुसारको पीपिई अभाव छ । बजारमा पीपिई पाईने भएपनि खरिद गर्न कसैले चासो नदेखाएको नेपालगन्ज उपमहानगरपाकिलाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द बताउँछन् ।

भेरी अस्पताल मात्रै नभई देशकै ठूलो वीर अस्पतालले सीमित बिरामी मात्र उपचार गर्न सक्ने पीपिई भएको बताएको छ । उपकुलपती डाक्टर डीएन शाहका अनुसार एकैपटक धेरै बिरामी आए उपचार गर्न सक्ने पनि पीपिई अस्पतालसँग छैन । पीपिई खरिद गर्न हामी तयार छौं उनले भने ‘तर, बजारमा पाइएको छैन ।’ थप पीपिईका लागि स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको उनले बताए ।

भेरी अस्पताल नेपालगन्जमा भने केही दिनका लागि पीपिई स्टक रहेको अस्पतालका प्रमुख डाक्टर प्रकाश थापा बताँउछन् । प्रयाप्त मात्रामा त होइन अहिलेलाई काम चलाउ पीपिई छ । उनले भने –‘विरामीको चाप बढेसगैं पीपिईको माग पनि गरिएकोछ । बाँकेका सवै स्थानीय तह तयारी अवस्थामा बस्नुपर्छ ।’ उनले भने–‘बजारमा जति पनि पीपिई पाउँछ । अहिले नै खरिद गरि राख्नुपर्छ ।’

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि पीपिईको अभाव छ । उपचारलाई असर हुन नदिन पीपिई मागेर चलाएको अस्पतालका निर्देशक डाक्टर प्रेमकृष्ण खड्काले बताए । उनले भने, ‘पीपिईको अभाव छ । अहिले मागेर काम चलाएका छौं । सवैतिर माग्दैछौं । खरिद गर्नका लागि बजारमा पनि अभाव छ ।’ पीपिई खरिदका लागि स्वास्थ्य मन्त्रालय तथा अन्य दातृ संस्थासँग अनुरोध गरिएको अस्पतालहरू बताउँछन् ।

कोभिड—१९ को सम्भावित जोखिम हुन नदिन व्यक्तिगत सुरक्षा सामग्री (पीपिइ) अभाव रहेको यहाँका गाउँपालिकाले गुनासो गरेका छन् । विशेष गरी नेपालगन्ज उपमहानगरपालिका बाहेकका पालिकाका स्वास्थ्य शाखामा पीपिईको अभाव देखिएको छ ।

स्वास्थ्य क्षेत्रमा आइपर्ने विसम् परिस्थितिमा जहिले पनि पहिलो घेरामा रहेर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी नै हुने भएकोले उनीहरूलाई आवश्यकताअनुसारका पीपिई उपलब्ध गराउँनुपर्ने नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्द बताउँछन् ।

काभ्रेको धुलिखेलमा उपचार्थ रहेकी सुत्केरीको कोरोनाका कारण निधन भएको खबरपछि त्रसित बनेका आम नेपाली बाँकेको नरैनापुरको क्वारेन्टिनमै एक युवकको निधनको खबरले झनै त्रसित बनेका छन् । कोरोना संक्रमणको उच्च जोखिममा रहेको बाँकेमा क्वारेन्टिनमै युवकको निधन भएपछि यहाँको सुरक्षा सर्तकता बढाईएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का बताउँछन् ।