कोभिड १९ : खुकुलो बजार, बढ्दै उच्च जोखिम


कोभिड १९ : खुकुलो बजार, बढ्दै उच्च जोखिम

आईतबार दिउँसो नेपालगन्जमा देखिएको भिडभाड । तस्विर: सेतोखरी

नेपालगन्ज : बाँके प्रशासनको लापरबाहीले बाँके कोरोनाको उच्च जोखिमा छ । बाँकेका सिडिओ कुमारबहादुर खड्का र यहाँको उच्च सुरक्षा संयन्त्रको लापरबाही तथा राजनीतिक दलहरूको मौनताका कारण बाँकेको नेपालगन्जमा लकडाउन खुलिसकेको आम नागरिकलाई भान भैरहेको छ ।

नागरिकमा कोरोनाको संक्रमण हुन कुनै निश्चित समय तोकिएको छैन् । बाँके प्रशासनले विहान ११ देखि दिउँसो ३ बजेसम्म बजार खुल्ला गर्नु नै बाँकेलाई कोरोनाको संक्रमणको जोखिममा धकेल्नु हो ।

अत्यावश्यक सामग्री खरिदको निहुँमा नेपालगन्ज शहरमा आजभोली व्यापक भीडभाड हुनुका साथै बेकामे मानिसहरूको जमघट बढ्दै गएको छ । यसले पनि समग्र बाँके र बिशेषगरी नेपालगन्ज शहर कोरोनाको उच्च जोखिमा देखिएको छ ।

अझैपनि बाँकेका नागरिकलाई कोरोनाबाट बचाउँने हो भने बाँके प्रशासनले नेपालगन्ज लगायत समग्र जिल्ला नै सील गर्न जरूरी देखिएको छ । प्रशासनको कमजोर प्रशासनिक व्यवस्थापन र नागरिकको स्वास्थ्य परीक्षणमा देखिएको सुस्तताका कारण आज बाँके जटिल अवस्थामा देखिएको हो ।

बाँके प्रशासनको उदासिनताले गर्दा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ मा १५ जना गरि अहिले बाँकेमा ३४ जनमा कोरोना संक्रमण भैसकेको छ ।

बाँके प्रशासनले शुरुवाती दिनमै लकडाउनमा कडाई र नेपालगन्जलाई सील गदिएको भए आज यस्तो अवस्था आउने थिएन खजुराका स्थानीय ऋषि पोखरेल भन्छन् ‘अझैपनि जिल्लालाई थप सुरक्षित र नागरिकमा कोरोना जोखिम कम गर्न समग्र जिल्ला नै सील मात्रै होइन कफ्र्यु समेत लगाउँन बाँके प्रशासन तयार हुनुपर्छ ।’

कोरोना भाइरसको सम्भावित जोखिम बढ्दै गएपछि शुरुवाती दिनमा बाँके प्रशासनले समयमै बोर्डर बन्द गर्नुपर्ने थियो । तर, बाँकेका सिडिओ खड्काको अटेरीका कारण समयमै बोर्डर बन्द हुन सकेको थिएन् । अहिलेपनि समयमै बाँकेलाई सील गरिएन भने कोरोना संक्रमणमा पर्ने र ज्यान गुमाउनेको संख्या पनि बढ्ने निश्चित देखिएको छ ।

कोरोना संक्रमणका कारण बाँकेको नरैनापुरमा आईतबार एक जना २५ वर्षिय युवाको निधन भएको छ । आईतबार बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए । उनी वैशाख ३० गते नेपाल आएका थिए ।

भारतबाट आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो । नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मोइन खाँका अनुसार उनी बसेको क्वारेन्टिनमा अरू ३८ जना पनि छन् । उनीहरू स्वास्थ्य परीक्षण जरूरी छ । उक्त क्वारेन्टिनमा ३८ जनासँग बस्ने भएकोले पनि जोखिम झनै बढेको उनी बताउँछन् ।

बैशाख १९ गते बाँकेमा पहिलो पटक कोरोना संक्रमित भेटिएका थिए । बाँकेमा बाँके प्रशासनले लकडाउन गरेको आईतबार ५५ दिन पुरा भएको छ । तर, यति लामो समयमा स्वास्थ्य संस्थाले जति गर्नुपर्ने हो त्यति मात्रामा नागरिकको स्वास्थ्य परीक्षण गर्न सकेका छैनन् ।

बाँकेको नेपालगन्ज उपमहनागरपालिककै जनसंख्यालाई निहाल्दा पनि यहाँ एक हजारबढीको स्वास्थ्य परीक्षण हुन सकेको छैन् । उपमहानगरमै करिब एक लाखबढी जनसंख्या रहेको अनुगमान छ ।

बाँकेमा दैनिक कम्तिमा एक हजारको दरमा नागरिकको स्वास्थ्य परीक्षण हुनुपर्नेमा उपमहा नगरपालिकाका अन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्द भेरी अस्पतालमा रहेको प्रयोगशालामा दैनिक ३४ जनाबढीको परीक्षणा हुन नसकेको बताउँछन् ।

बाँकेको सुरक्षा सयन्त्रकै फितलो निर्णयका कारण यहाँको बजार दैनिक दिनभरी खुल्ला जस्तै देखिन्छ । नेपालगन्जका विभिन्न चोक, गली र सडकमा नागरिकको भीडभाड बाक्लो देखिन्छ । अहिलेसम्म नेपालमा २९२ जना संक्रमित छन् । दुई जनाको मृत्यु समेत भइसकेको छ ।

नेपालका अधिकांश जिल्ला कोरोनाको रेड जोनमा छन् । यस्तै रेड जोनमा पर्ने जिल्ला मध्ये बाँके रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटा बताउँछन् ।

बाँकेमा मात्रै हालसम्म ३४ जना कोरोना संक्रमित भेटिसक्दा पनि यहाँका नागरिकहरु त्यति गम्भीर भएको देखिदैन । आधा सटर खोलेर भएपनि अधिकांश पसल खुलेका छन् । सवारीसाधन गुडिरहेको छन् । तरकारी लगायतका सामान खरिदबिक्री गर्ने पसलमा मानिसको भिड छ । यसैले पनि बाँके र नेपालगन्जमा कोरोना संक्रमणको अझै उच्च जोखिम बढ्दै गएको छ ।

यो पनि पढ्नुहोस्

बाँकेमा कोरोनाले एक युवकको मृत्यु