नेपालगन्जः बाँके जिल्लामा पहिलोपटक कोरोना भाइरसबाट मृत्यु भएका युवालाई राप्ती नदीको बगरमा गाडीएको छ । कोरानो भाइरसबाट मृत्यु भएका २५ वर्षीय युवालाई नरैनापुर गाउँपालिका वडा नम्बर ५, मटेहिया स्थित राप्ती नदिको बगरमा गाडिएको हो ।
कोरोना भाइरसबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न सरकारले बनाएको कार्यविधि विपरित उक्त शव गाडीएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधिमा कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको अन्तिम कर्म अन्य रोगी मृतकको जस्तो हुँदैन ।
कोरोना भाइरसका कारण मृत्यु भएका ब्यक्तिको शव व्यवस्थापन गर्न गत चैत्र २५ गते जारी कार्यविधिको बुँदा नम्बर ‘ग’ विपरित शव गाडिएको पाइएको हो ।
मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधिको बुदाँ नम्बर ‘ग’ मा भनिएको छ ‘कोभिड–१९ को कारण मृत्यु भएको शव जथाभावि सदगत गर्नु हुदैन ।’ तर, बाँकेको नरैनापुर गाँउपालिकामा रहेको क्वारेन्टिनमा रहेका युवाको मृत्युपश्चात राप्ती नदिको बगरमा गाडिएको छ ।
यस विषयमा बुझ्दा सेतोखरीसगं कुरा गर्दै जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन नरेश श्रेष्ठले भने–‘कोरोना भाइरसका कारण मृत्यु भएका युवकलाई आईतबार बेलुका ८ बजे दाहसंस्कार गरिएकोछ ।’ उनले थपे–‘मृतकको परिवार र धर्म संस्कार अनुसार उनको अन्तिम संस्कार गरिएको हो । उनलाई नरैनापुर गाउँपालिका वडा नम्बर ५ स्थित राप्ती नदिको बगरमा गाडिएकोछ ।’
कोरोना भाइरस पोजेटिभ युवाको शव गाड्न संलग्न व्यक्ति लगायत उनको ‘क्लोज कन्ट्रयाक्ट’मा आएकालाई क्वारेन्टिनमा राखिने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन श्रेष्ठले सेतोखरीलाई जानकारी दिए । उनले भने–पोजेटिभ ब्यक्तिसंग कतिजना क्लोज कन्ट्रयाक्टमा आएका थिए ती सवैको लगत लिई क्वारेन्टिनमा राखिनेछ । यसको विस्तृत विवरण सोमबार आउँछ ।’
कोरोना भाइरसका कारण मृत्यु भएका युवकलाई राप्ती नदिको बगरमा गाडीएको विषयमा थप जानकारी लिन नरैनापुर गाउँपालिका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाहसंग टेलिफोनमा कुरा गर्दा उनले आफूलाई सन्चो नभएर घरमै बसेको बताए । ‘मृतक युवाको दाहसंस्कार गरिएको छ । तर, कुन ठाँउमा हो त्यो बुझ्न भ्याएको छैन ।’ अध्यक्ष इस्तियाकले सेतोखरीलाई भने ।
कोरोना पोजेटिभ ब्यक्ति मृत्यु हुदाँ निश्चित मापदण्ड पुरा गरि उचित र सावधानीरुपमा ब्यक्तिको धार्मिक तथा कुलअनुसार दाहसंस्कार गर्न पाउने ब्यवस्था कोभिड–१९ बाट मृत्यु भएका ब्यक्तिको शव ब्यवस्थापन सम्बन्धि कार्यविधिले तय गरेकोछ । यसरी जहाँपायो त्यही शव गाड्नाले कोरोनाको जोखिम बढ्ने हुदाँ सरकारले त्यस्तो ब्यवस्था गरेको हो ।
कार्यविधिअनुसार कोरोनाबाट मृत्यु भएकाको शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य प्रयोग गर्नुपर्नेहुन्छ । त्यस्तै मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) लगाउनुपर्ने हुन्छ । जसमा पञ्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई रहनेछ । मृतकको शवलाई कम चलाउने र शवमा लागेका पाइप, केथेटरलगायत सामग्री सतर्कतापूर्वक हटाउन उक्त कार्यविधिले भनेको छ ।
अझ कोरोना भाइरसको संक्रमण रोकथामका लागि सर्तकता अपनाएको सरकारले कोभिड–१९ बाट मृत्यु भएका ब्यक्तिको शवलाई ६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगी भएकालाई नजिकै जान नदिने, अन्तिम संस्कार गर्दा सकभर शव नछुने तथा कोरोनाबाट मृत्यु भएकाको पोष्टमार्टम सामान्यतया गर्न नपर्ने गरेपनि सावधानी अपनाएर मात्रै गर्ने कार्यविधिमा उल्लेख छ ।
यो कार्यविधि अनुसार नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुने कुनैपनि जात, धर्म तथा समुदायका ब्यक्तिको अन्तिम संस्कार उक्त कार्यविधि अनुसार गर्नुपर्ने हुन्छ ।
यो पनि पढ्नुहोस्