नेपालगन्ज खजुरारोडमा रहेको लायन्स डेण्टल अस्पताल । तस्विर : दामोदर भण्डारी /सेतोखरी
नेपालगन्ज: बाँकेको खजुरारोडमा रहेको लायन्स डेण्टल हस्पिटलमा क्षमता भन्दा दोब्बर कोरोना संक्रमितहरू राखिएको छ । २६ जनाको क्षमता रहेको उक्त आईसुलेसनमा ५९ जना कोरोना संक्रमितलाई कोचाकोच गरि राखिएको छ । यी सबै कोरोना संक्रमितहरू बाँकेको नरैनापुर क्षेत्रका हुन् ।
उक्त आइसोलेसनमा कोरोना संक्रमितका लागि आवश्यक सबै खाले मापदण्ड पनि पुरा भएको देखिदैंन् । उनीहरूको सुरक्षाका लागि आवश्यकताअनुसार प्रहरी पनि देखिदंैनन् । यसले संक्रमितहरू भाग्न सक्ने सम्भावना उत्तिकै बढेको छ ।
खजुरा रोडको डेण्टलमा बनेको आइसोलेसनमा संक्रमित कोचाकोच राखिएपनि यहाँको सुरक्षाका लागि उचित व्यवस्थापन नहुँदा स्थानीय त्रसित बनेका छन् । स्थानीयकाअनुसार त्यहाँ कोरोना संक्रमितलाई यहाँ राखिएकोमा बिरोध छैन् । तर, उक्त आईसोलेसनमा क्षमताअनुसार मात्र कोरोना संक्रमितलाई उचित व्यवस्थापनका साथ राख्नुपर्ने स्थानीयको माग छ ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणा र वडा नम्बर एकका वडाअध्यक्ष प्रमोद रिजालको पहलमा २६ बेडको क्षमता रहेको सो आईसोलेसनमा कोरोनाको संक्रमतिको सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाउनुका साथै आइसोलेसनमा वरिपरि दमकलको सहायतामा सेनिटाइजर समेत गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा मंगलबार बसेको सर्वपक्षीय बैठकले नरैनापुर क्षेत्रका कोरोना सक्रमितलाई कोहलपुरको पिपिरीस्थित कृषि विकास तालिम केन्द्र र डेण्टल हस्पिटलमा राख्ने निर्णय गरेको थियो ।
तर, कोहलपुरका स्थानीयको व्यापक विवादपछि नरैनापुरका सबै संक्रमितलाई लायन्स डेण्टलमा कोचाकोच गरि राखिएको हो । बाँके प्रशासनले आफैले गरेको निर्णय आफैले कार्यान्वयन गर्न नसक्दा २६ जना क्षमताको आईसोलेसनमा दोब्बर संक्रमित कोचाकोच राख्नु परेको छ ।