संक्रमितको उचित व्यवस्थापना गर्न ध्यानाकर्षण
File Photo
नेपालगन्जः प्रस्तावित लुम्बिनी प्रदशेमा रहेका बिशेष कोरोना अस्पतालमा विरामीको चाप बढ्दै गएको छ । प्रत्येक दिन कोरोना सक्रमितको संख्या बढेसँगै यहाँका बिशेष अस्पतालमा बेडको अभाव सृजना हुँदै आएको छ ।
कोरोना बिशेष अस्पताल र आइसोलेसन कक्षमै बेड अभाव भएपछि संक्रमितहरू भुई र बराण्डामा समेत दिनरात विताउँन बाध्य छन् । प्रदेश सरकारले यस प्रदेशका चारवटा ठूला अस्पताललाई बिशेष कोरोना अस्पतालका रूपमा घोषणा गरेको छ । तर, यी अस्पतालमा बिशेष कोरोना अस्पताल स्थापना र सञ्चालनका लागि आबश्यक मापदण्ड भने पूर्ण देखिदैन् ।
संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जान थालेपछि उनीहरूको उचित उपचार, बास र सेवा सुविधाका लागि प्रदेश सरकारका तर्फबाट सहयोग हुनुपर्नेमा बाँके १ (क) का प्रदेश सांसद कृष्णा केसी ‘नमुना’ निरन्तर लागि परेकी छन् । तर, यहाँका संघीय सांसद महेश्वरराज गहतराज, नन्दलाल रोकाय र मोहम्द ईस्तियाक राई लगायतका प्रदेश सांसदहरू समस्या समाधानमा उदासिन छन् ।
प्रदेश सांसद ‘नमूना’ले प्रस्तावित प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल र सामाजिक बिकास मन्त्री शुदर्शन बराललाई १२ बुंदे ध्यानाकर्षण पत्र समेत बुझाएकी छन् ।
बाँकेमा कोभिडको हल्ला चलेसँगै रातदिन यसको रोकथाम तथा सचेतना र भारतबाट आउने आमनेपालीको व्यवस्थापन, स्वास्थ्य परिक्षण लगायतका काममा सक्रिय भूमिका खेल्दै आएकी सांसद नमुनाले नरैनापुरमा एक्कासी कोरोना सक्रमित बढेपछि त झनै आफनो भूमिका लागि फराकिलो पारेकी छन् ।
प्रदेशमा कोरोना भाइरसको संक्रमण तिब्र रूपमा देखिएको र बिशेष गरी बाँकेमा र बाँकेको पनि नरैनापुर गाउँपालिका क्षेत्रमा कोरोनाका संक्रमित बढि देखिएको उनी बताउँछिन् ।
कोभिड १९ बाट नरैनापुर ५ का २५ वर्षका अनिल नाउको मृत्यु पछि देखिएको परीक्षणका आधारमा कोरोना संक्रमणकै कारण देखिएपछि यस क्षेत्रका नागरिक त्रसित बनेका छन् ।
बाँकेमा मापदण्ड अनुसारको ब्यवस्थित क्वारेन्टाइन बनाउनुपर्ने सीमानाबाट बैध र अबैध रुपमा मानिसहरुको आवतजावत बन्द गर्नुपर्ने, सामुदायिक आईसोलेशन बनाउनुपर्ने, भेरी अस्पतालमा आरडिटी र पिसिआर थप गर्नुपर्ने, नेपालगन्ज शिक्षण अस्पताल लगायतका निजि अस्पतालका चिकित्सक तथा स्वास्थकर्मीलाई समेत कोभिड १९ विरुद्ध परिचालन गर्नुपर्ने लगायतका विषयमा १२ बुंदे मागसहितको ध्यानाकर्षण पत्र बुझाउँएको मुख्यमन्त्रीको कार्यालय स्रोतले बताएको छ ।
प्रदेश सांसद नमुनाले कोभिड–१९ महामारीको सुरुवात देखि नै आउन सक्ने भयावह स्थितिको मध्यनजर गर्दै कोभिड १९ रिलिफ फण्डको सुरूवात समेत गरेकी छन् । जसले कोरोना भाइरसको महामारी र त्यसपछि गरिएको लकडाउनबाट अतिबिपन्न बर्गमा परेको असरलाई कम गर्न बाँकेका सम्पूर्ण स्थानीयतहमा खाद्यान्न लगायतको सहयोग गरेको छ ।
प्रदेश सरकारले कोरोना विशेष अस्पताल बनाएका चार वटामध्ये तीनवटामा बेड खाली छैनन् । बुटवलको धागो कारखाना, भैरहवाको भीम अस्पताल, नेपालगन्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बनेका आइसोलेसन बेडहरु संक्रमितले भरिएका छन् ।
दाङ बेलझुण्डीको आयुर्वेद अस्पतालमा पनि केही बेडमात्र बाँकी छन् । प्रदेश ५ का चारवटा कोरोना विशेष अस्पतालमा आइसोलेसन बेड संख्या १ सय ८४ छन् । बाँकेको नरैनापुरका संक्रमितलाई कोहलपुरमा राख्न नदिएपछि अहिले उनीहरूलाई खजुरारोडको लायन्स डेण्टल हस्पिटलमा कोचाकोच राखिएको छ । यस्तो अवस्थामा समेत कोहलपुर क्षेत्रबाट संघीय तथा प्रदेश सांसदका जनप्रतिनिधी मौन छन् ।
उक्त आइसोलेसनमा कोरोना संक्रमितका लागि आवश्यक सबै खाले मापदण्ड पनि पुरा भएको देखिदैंन् । उनीहरूको सुरक्षाका लागि आवश्यकताअनुसार प्रहरी पनि देखिदंैनन् । यसले संक्रमितहरू भाग्न सक्ने सम्भावना उत्तिकै बढेको छ । संक्रमितको सुरक्षा र आबश्यक मापदण्ड पुरा गर्न पनि प्रदेश सांसद ‘नमूना’ले बाँकेस्थित सरोकारवालासँग अनुरोध गरेकीछन् ।
डेण्टल हस्पिटलमा क्षमता भन्दा दोब्बर कोरोना संक्रमितहरू राखिएको छ । २६ जनाको क्षमता रहेको उक्त आईसुलेसनमा ५९ जना कोरोना संक्रमितलाई कोचाकोच गरि राखिएको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर एकका अध्यक्ष प्रमोद रिजाल बताउँछन् ।