नेपालगन्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेटअनुसार देशभर कोरोना भाइरस संक्रमित संख्या ५ सय ७ पुगेकोछ ।
कुल संक्रमितमध्ये करिब ४५ प्रतिशत बढी संक्रमण प्रदेश ५ मा मात्र छन् । शनिबार बेलुका ६ बजेसम्म यो समाचार तयार पार्दा प्रदेश ५ मा स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटअनुसार हालसम्म २ सय २५ जनामा संक्रमण पुष्टि भइसकेको छ । भने प्रदेश पाँचको बाँके जिल्लामा मात्रै १ सय १५ जना कोरोना संक्रमित छन् । जो प्रदेश पाँचमै सबैभन्दा बढि संक्रमित हुन् ।
गत वैशाख १९ गते पहिलोपटक प्रदेश पाँचमा कोरोना संक्रमित भेटिएका थिए । सो समयमा बाँकेको ६० वर्षिय बृद्ध र रुपन्देहीका २५ वर्षे युवकमा संक्रमण पुष्टि भएको थियो । त्यसको दुई दिनपछि वैशाख २१ गते बाँकेमा एकै पटक १५ जनामा संक्रमण पुष्टि भयो । भारतको भ्रमण गरी आएका बाँकेका पहिलो संक्रमितको ट्रेसिङबाट ती संक्रमित पुष्टि भएका हुन् ।
यसको दुई दिनपछि बाँकेमा पुनः ७ जनामा संक्रमण पुष्टि भयो । पहिलो संक्रमण पुष्टि भएपछिको तीन सातामा यहाँ २ सय ११ पुग्दा सबैभन्दा बढी जेठ ५ गते एकैपटक ६१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै वैशाख २९ र ३१ गते २३–२३ जनामा संक्रमण पुष्टि भयो । जेठ ७ गते पनि यहाँ २० जनामा संक्रमण पुष्टि भएको थियो । भने कोरोनाकै कारण मृत्यु हुनेमा पनि प्रदेश पाँचमा बढि रहेकाछन् । गुल्मी र बाँकेका एक÷एक जना पुरुष हुन् ।