नेपालगन्ज १३ जेठ:नेपालगन्जमा पत्रकार र नर्स दुवैलाई कोरोना पोजेटिभ देखिएको छ । नर्सलाई पहिला कोरोना पोजेटिभ देखियो भने पत्रकारलाई पछि देखिएको हो । नाताले दुवै श्रीमान श्रीमती हुन् ।
पत्रकारलाई कोरोना देखिएको नेपालगन्जको यो पहिलो घटना हो । नेपालगन्ज वडा न २ निवासी ती पत्रकारको स्वाव टेस्ट गराउँदा पिसिआर परिक्षणबाट कोरोना भाइरस पोजेटिभ देखिएको भेरी अस्पतालले जनाएको छ ।
कोरोना संक्रमण देखिएका ती पत्रकारलाई आइसोलेसनमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, कोरोना संक्रमण पुष्टी हुने वित्तिकै ती पत्रकारलाई सोमबार नै बाँकेको खजुरा स्थित शुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आइसोलेसनमा लगेर राखिएको छ ।
नर्स रहेकी उनकी श्रीमतीलाई कोरोना पोजेटिभ देखिएपछि ती पत्रकारलाई पिसिआर टेस्ट गराउँदा उनलाई पनि कोरोना पोजेटिभ देखिएको हो । ती पत्रकारलाई श्रीमतीबाटै संक्रमण भएको हुन सक्ने चिकित्सकले बताएका छन् । पत्रकार र नर्स दुवै श्रीमान श्रीमती सँगै आइसोलेसनमा रहेका छन् ।