नेपालगन्ज १३ जेठ : अनेरास्ववियू बाँकेले भारतबाट घर फर्किन थालेका नेपालीलाई नास्ता पानी वितरण गरेको छ । नेपालगन्जको उर्खमाउलो गर्मीमा भारतबाट आई नेपालका विभिन्न जिल्ला स्थित आफ्नो घर फर्कन थालेका नेपालीलाई सिमा क्षेत्र जमुनहामा नास्ता तथा पानी खुवाएको अनेरास्ववियूका युवा नेता तुलसीमणी केसीले जानकारी दिए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी समिति जिल्ला शाखा बाँके, नेपालगन्ज उपमहानगरपालिका महिला उद्यमी समितिको सहयोगमा अनेरास्ववियू बाँकेले गर्मीमा भारतबाट फर्किएका नेपाली दाजुभाइ, दिदी बहिनीहरुलाई भोको पेटमा थोरै भएपनि राहात मिलोस भन्ने उद्देश्यले नास्ता पानी वितरण गरिएको अनेरास्ववियूका युवा नेता केसीले बताए ।
‘घाम घाममा भारतबाट आफ्नो घर फर्किरहेका छन्, भोकै छन्, जमुनहामा अल्पत्र छन् त्यो दुःख हामीले हेर्न सकेनौ’ युुुुुुुवा नेता केसीले भने ‘त्यसैले हामीले केही मात्रामा भएपनि राहात मिलोस भनेर नास्ता पानी वितरण गरेका हौं ।’