जन्मदिनमा अल्पत्र नेपालीको प्यास मेटाउदै डा.नितेश


सेतोखरी सेतोखरी   बुधबार, जेठ १४, २०७७
जन्मदिनमा अल्पत्र नेपालीको प्यास मेटाउदै डा.नितेश

 

नेपालगन्ज १४ जेठ : डा.नितेश कुमार कनोडियाको उमेर कम छ तर जिम्मवारी धेरै छ । सानो उमेरमा जिम्मेवारी बोकेर उनी अगाडी बढीरहेका छन् । डा.नितेश कोही पनि छट्पटीरहेको टुलुटुलु हेरेर बस्न सक्दैनन् । त्यस्ता कारुणीक अनि दर्दनाक दृश्य देखेपछि उनको मन भक्कानिन थाल्छ । अनि सहयोगी हातहरु अगाडी बढ्छन् उनका । चाहे भुकम्पको बेला होस् चाहे कोरोनाको माहामारी वा अस्पतालमा पैसाको अभावमा छट्पटाइरहेको विरामी होस् डा. नितेशले मन थाम्न सक्दैनन् । अनि आपत विपतमा परेकाहरुको घाउमा मल्हम लगाउन थाल्छन् उनले ।

समाजसेवा गर्न औधी रुचाउने डा.नितेशले अहिले नेपालगन्जको चर्कोको गर्मीमा भारतबाट फर्किएका नेपालीहरु सिमा क्षेत्रमा छट्पटाइरहेकोे हेर्न सकेनन् । यसैलाई अवसर मान्दै उनले बुधवार परेको आफ्नो जन्मदिनमा घर फर्कनका लागि भारतबाट आई उखर्माउलो गर्मीमा जमुनहा नाकामा भोक, प्यासले छट्पटाइरहेका नेपालीलाई खानेकुरा बाँडिरहेका छन् ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सहायक निर्देशक डा.नितेशले आफ्नो जन्मदिनको अवसर पारेर भारतबाट नेपाल फर्किएका नेपालीलाई ७ दिन सम्म नास्ता पानी खुवाउने छन् । ‘म कहिल्यै पनि अरुको दुःख हेर्न सक्दिन’ डा.नितेशले भने ‘त्यसैले मेरो जन्मदिनको अवसर पारेर ठुलो केही गर्न नसकेपनि वोर्डरमा रहेका नेपालीलाई भोक प्यास त मेटाउन सकुला भनेर नास्ता पानी वितरण गरिरहेको छु ।’ उनको यो कार्यलाई नेपालगन्जवासीले प्रशंसा गरेका छन् ।

लामो यात्रपछि जमुनहा नाका आइपुगेका नेपालीहरु पानी समेत नपाएर प्याक प्याक भएका हुन्छन्, त्यसैमा भोक पनि । डा. नितेशले आफै जमुनहामा खटिएर छटपटाइरहेका नेपालीलाई खानेकुरा र पानी बाँडिरहेका छन् । डा.नितेशले जमुनाह नाकामा भारतबाट आइपुगेका नेपाली नागरिकलाई प्रती ब्यक्ति एक बोतल पानी, चाउचाउ र बिस्कुट एक हप्ता सम्म नियामितरुपमा वितरण गर्ने छन् ।