बर्दिया १३ जेठ : बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा क्वारेन्टाइनमा बसेका एक जनाकोे मृत्यु भएको छ । गुलरिया नगरपालिका प्रमुख मुक्तिनाथ यादवका अनुसार, मृतक व्यक्ति छोरासँगै अछामबाट मजदुरी गरी मंगलबार राति ११ बजे फर्किएका थिए ।
अछामबाट गुलरिया आएका ती व्यक्ति गुलरिया नगरपालिका वडा नम्बर ९ का ५५ वर्षीय पुरुष रहेको नगरप्रमुख यादवले बताए ।
मृत्यु भएका ती व्यक्ति सहित अछामबाट १३ जनालाई गुलरिया–४ स्थित बबई बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा राखिएको थियो ।
नगरप्रमुख यादवले करिब ८ घण्टा क्वारेन्टाइनमा बसेका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि जिल्ला अस्पताल गुलरिया लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जानकारी दिए ।