‘दारु र सारु’ले तानिएका बाँकेका सिडिओको भित्री कथा


सेतोखरी सेतोखरी   बिहीबार, जेठ १५, २०७७
‘दारु र सारु’ले तानिएका बाँकेका सिडिओको भित्री कथा

 


काठमाण्डौं १५ जेठ : संगतले साथी जस्ता, उमेरले भाइ–भतिजो जस्ता सचिव । उनीहरुको नजिकको सम्बन्ध थियो, सबै कुरा शेयर हुन्थ्यो । साथीभाइ नै भए पनि पद त पदै हो, पदको मर्यादा त कायम गर्नुनै पर्छ ।

‘कति टेन्सन लिने यार’, बाँकेका सिडिओ (तात्कालिन) कुमारबहादुर खड्काले गत साता गृहसचिव महेश्वर न्यौपानेसँग भने ‘एकाबिहानै केटो (सहयोगी) ले चिया सोध्नै छाड्यो, कुन दारु खाने सर पो भन्छ !’गृह सचिब चकित भए ।

बाँकेको नरैनापुरमा बढिरहेको कोरोनाले सबभन्दा बढी खतरा बढाएको जिल्लाको सिडिओले यस्तो कुरा गरेको सुनेपछि सचिव झस्किए ।

‘के’रे ? के’रे ? फेरि भन्नुस् त’, अचम्म मान्दै सोधे ।

सिडिओले फेरि भने, ‘अरु काम खासै छैन । दारु खाने, तास खेल्ने– त्यस्तै त हो नि...!’
सिडिओको कुराले सचिव आत्तिए !

दुई वर्षअघि कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा उनी त्यहाँका सिडिओ थिए ।
घटनाको सूचना पाएर पनि सामान्य घटनाझैँ लापरवाही गर्दा त्यही कुराले देश–विदेश हल्लियो । उनी त्यहाँबाट तानिए ।

अहिले पनि नरैनापुरको क्वारेन्टाइनमा बसेको मान्छे संक्रमित भइवरी ज्यान गएपछिमात्रै संक्रमण भएको थाहा पाउनुपर्ने स्तरको कमजोरी हुनुका पछाडी उनको प्रशासनिक परिचालनमै कमजोरी भएको गृहको ठम्याई थियो ।
वैशाख ३१ गतेअघि जारी भएका सबैखाले सवारी पास रद्द गरे पनि जेठको पहिलो साता लाग्दा पनि रुपैडिया नाकाबाट थामिनसक्नुको मानिसका ताँती देखिन्थ्यो । राख्न त ती सबैलाई क्वारेन्टाइनमै राखियो । तर, नाम मात्रको क्वारेन्टाइन् ।

प्रहरी र सशस्त्रका एसपीहरु सिडिओको आदेश पर्खिएर क्वारेन्टाइन व्यवस्थापनको काममा लाग्न तम्तयार थिए । तर, सिडिओबाट आदेश आउँदैन मात्रै हैन, सोध्दा पनि ‘मिलाएर गर्नुस् न यार’ भन्ने बाहेक अरु कुरै आउँदैनथ्यो । जबकी, क्वारेन्टाइन् व्यवस्थापनबारे गृह मन्त्रालयले नीति बनाएको छ । प्रत्येक जिल्लामा सिडिओमार्फत ती नीति कार्यान्वयन गर्ने निर्देशन छ । तर, बाँकेमा सिडिओ छन् कि छैनन् भन्ने जस्तो अवस्था भइदियो ।

प्रहरीका एसपी वीरबहादुर ओली र सशस्त्रका दीपक अधिकारी आ–आफ्ना हेडक्वार्टरलाई भन्दै थिए, ‘हामी अन्यौलमा पर्यौं । कसरी काम गर्ने हो ?’ यस्तो भएपछि त्यहाँका सिडिओ कुमार खड्का मन्त्रालयमा बोलाइए ।
सचिवले ‘के छ खबर ?’ भनेरमात्रै के सोधेका थिए, सिडिओले ‘दारु–सारु, अगडम्बगडम्...’ गर्न थाले ।
जम्मा डेढ महिना जागिर बाँकी भएका कुमारलाई त्यहाँबाट तानेर मन्त्रालयमा ल्याउने, यतै बसेर पेन्सनपट्टा बनाउन् भन्दै मन्त्रालय तान्ने कुरा भयो । अनि खड्कालाई मन्त्रलय तानियो ।

यसपछि सिडिओमध्येका सबभन्दा जिम्मेवार मान्छेको खोजी भयो । लामो समयदेखि विभिन्न जिल्लामा सिडिओ चलाउँदै, प्रशासनिक परिचालन र विपद् व्यवस्थापनमा पनि राम्रो अनुभव हासिल गरेका रामबहादुर कुरुङवाङलाई बाँके पठाइयो । उनी स्याङ्जाका सिडिओ थिए ।

भूकम्पको समयमा प्यूठान, स्याङ्जाअघि बर्दियामा सिडिओ चलाउँदा उनीसँग मन्त्रालयका हाकिमदेखि राजनीतिक नेतृत्वसमेत सन्तुष्ट थिए । नेपाली सेनाको सेकेण्ड लप्टनबाट जागिर शुरु गरेका उनका व्याचीहरु अहिले फूलकर्णेल छन् । उनले चाहिँ निजामति सेवामा आकर्षण देखे, सेनाको जागिर छाडे । शाखा अधिकृतबाट निजामतिमा प्रवेश गरेका उनी फौजी तालिम प्राप्त देशका एकमात्र सिडिओ हुन् । निजामती सेवाअन्तर्गत पनि उनीचाहिँ गृहकै क्याडर हुन् । तेह्रथुममा जन्मिएका लिम्बू हुन् ।

साभार : जनआस्था साप्ताहिकबाट