नेपालगन्ज : भारतबाट घर फर्कना थालेका नेपालीहरु सवार हाइस गाडी बाँकेको राप्ती सोनारी गाउँपालिका–२ शम्शेरगन्ज–अगैया जंगलमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् । मृत्यु हुनेमा ११ पुरुष र १ महिला छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङका अनुसार, भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु चढेको हाइस गाडी सडकमा रोखिराखेको ट्रकमा ठोक्किएर दुर्घटना हुन पुगेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक पविन्द्र वमले भने, ‘भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको फोर्स गाडी राति करिब १२ बजेतिर दुर्घटनामा परेको थियो । १२ जनाको मृत्यु भएको छ, चार–पाँच जनाको अवस्था गम्भीर छ ।’
नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचार नेपालगञ्जमा भइरहेको छ । शवहरु भेरी अस्पतालमा राखिएको छ । मृतक सनाखत नभएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।